राहत वितरणमा कालोबजारी गरेको अभियाेगमा नगर प्रमुख र वडाध्यक्षसहित ९ जना पक्राउ

 बैशाख ९, २०७७ मंगलबार १७:२०:४६ | जयनारायण यादव
unn.prixa.net

बारा - राहत वितरणमा कालोबजारी गरेको अभियाेगमा प्रहरीले कलैया उप-महानगरपालिकाका नगर प्रमुख र पाँच जना वडाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

कोरोना महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका घर-परिवारलाई उप-महानगरपालिकाले वितरण गरेको दाल अखाद्य भएको प्रमाणित भएपछि प्रहरीले त्यसमा संलग्न रहेको आरोपमा नगर प्रमुख राजेश राय यादवसहित वडाध्यक्षहरुलाई पक्राउ गरेकाे हो ।

प्रहरीले नगर प्रमुख यादवलाई बयानका लागि बोलाएर पक्राउ गरेकाे हो ।प्रहरीले कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नम्बर ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश यादवलाई यसअघि नै पक्राउ गरिएकाे छ । 

राहत वितरणमा अखाद्य सामग्री वितरण गरिएको पाइएको र त्यसमा नगर प्रमुखसहित केही वडाध्यक्षको संलग्नता देखिएकाले पक्राउ गरिएकाे प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले बताउनुभयो ।

प्रहरीले उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तर्गतको मुद्दामा कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रहरीले वीरगञ्जमा रहेको धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पनि पक्राउ गरिसकेको छ । 

कलैया उपमहानगरपालिका ७ को यादव कोल्ड स्टोरमा भण्डार गरी राखिएको अखाद्य दाल विभिन्न वडा कार्यालयले खरिद गरी राहत वितरण गरेका थिए ।गएको चैत्र २७ गते प्रहरीले कलैया उपमहानगरपालिका २० बाट अखाद्य दाल बरामद गरी अनुसन्धान थालेको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले कोल्ड स्टोरका प्रवन्धक कृष्ण यादव, कलैया उपमहानगरपालिका १० का वडा सचिव खेदु मियाँलाई पनि पक्राउ गरिएकाे छ । 

कलैया उपमहानगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणको अधिकार वडा कार्यालयलाई दिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका केही वडाध्यक्षको बयानका आधारमा नगर प्रमुख यादवलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो । 

नेपाली कांग्रेसले भने नगर प्रमुख यादवलाई सुनियोजित ढङ्गले स्थानीय प्रहरी प्रशासनले फसाएको आरोप लगाएको छ । नेपाली कांग्रेसका सभापति जयचन्द्र चौरसिया नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर वडा कार्यालयले खरिद गरेको काममा नगर प्रमुखलाई सुनियोजित ढङ्गले फसाउन खोजिएकोले बिना शर्त रिहाइ गर्न माग गरेको हो ।

केही राजनीतिक दलको दबावमा आएर कलैया उप-महानगरपालिकाका नगर प्रमुख यादवलाई गर्दै नगरेको काममा फसाउन खोजिएको नेपाली कांग्रेसको दाबी  छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया