क्वरेण्टीन र आइसोलेसन वार्ड अपाङ्गमैत्री भएन

 बैशाख १२, २०७७ शुक्रबार १०:२:३३ | मित्रलाल शर्मा
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसले विश्वभरि मानव समुदायलाई चुनौती थपेको कुरामा हामी कसैको दुईमत छैन । यो समयमा हरेक व्यक्ति प्रभावित हुनु स्वभाविक हो । तर अरुको तुलनामा अपाङ्गता भएका व्यक्ति अलि धेरै प्रभावित भइरहेका छन् । अहिले उनीहरुमाथि जसरी ध्यान पुग्नुपर्ने हो त्यसरी कुनैपनि क्षेत्रबाट ध्यान पुगिरहेको देखिँदैन । अपाङ्गता भएका व्यक्तिमा कोरोना सङ्क्रमण भयो भने उनीहरुको व्यवस्थापन कसरी गर्ने ? भन्ने कसैले सोचेको पाइएन । उनीहरुलाई यसबाट कसरी बचाउने र उनीहरुमा सङ्क्रमण भइहाल्यो भने कसरी व्यवस्थापन गर्ने भन्नेतिर कसैको ध्यान गएको देखिँदैन ।

अत्यावश्यक औषधी अभाव

पछिल्लो समय रक्तस्रावसम्बन्धी समस्याबाट अपाङ्गता भएका व्यक्तिलाई विशेष समस्या उत्पन्न भएको छ । उनीहरुले नियमित प्रयोग गर्ने औषधी देशमा सकिएको छ । ती औषधी नेपालमा उत्पादन हुँदैन । विदेशबाट ल्याउनुपर्ने स्थिति छ ।  ती औषधी भएन भने उनीहरु बाँच्न सक्दैनन् ।

अहिले हवाई उडान स्थगित भएकोले औषधी ल्याउन सकिने अवस्था छैन । औषधी पनि निकै महँगो भएकोले राज्यले औषधी किनेर ‘स्टक’ राखेको छैन ।  यसबाहेक मनोसामाजिक अपाङ्गता र बौद्धिक अपाङ्गता भएका व्यक्तिले नियमित प्रयोग गर्ने औषधीहरु पनि अहिले पाउन सकिरहेको छैन । 

रक्तस्राव र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले १ दिन मात्रै औषधी खान र प्रयोग गर्नु पाउनुभएन भने विभिन्न समस्या देखा परिहाल्छ । यस्तै ‘स्पाइनल कड इन्जुरी’लगायतका अपाङ्गता भएकाहरुलाई डाइपरलगायतका सामग्री भएन भने उहाँहरुको जिन्दगी चल्न सम्भव छैन । उहाँहरु ह्वील चेयरको सहायतामा मात्रै बसिरहनुभएको छ । 

लकडाउनको कारण उहाँहरुलाई आवश्यक सामग्री कसले पुर्याइदिने भन्ने प्रश्न पनि छ । उहाँहरुले प्रयोग गर्नुपर्ने औषधी तत्काल व्यवस्थापन गरिदिए अपाङ्गता भएका व्यक्तिले थप समस्या झेल्नुपर्दैन थियो । 

राहत वितरणमा समस्या 

कोरोना भाइरसको सङ्क्रमण थप नफैलियोस् भनेर सरकारले एक महिनादेखि लकडाउन गरेको छ । यो अवधिमा सबै आर्थिक क्रियाकलाप बन्द छन् । उद्योग कलकारखाना बन्द छन् । काम गर्नेहरुको काम खोसिएको छ । त्यसैलाई ध्यान दिएर  विभिन्न ठाउँमा राहत वितरणका कार्यक्रमहरु भइरहेका छन् । सरकारले पनि राहतका प्याकेजहरु सार्वजनिक गर्दै छ । तर अपाङ्गता भएका व्यक्तिका लागि राहत प्याकेज घोषणा भएको पाइएन । 

अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण स्थलसम्म पुग्न समस्या छ । त्यहाँसम्म पुग्न उनीहरुले अरुको सहारा लिनुपर्ने हुन्छ । आफ्नै गाउँघरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई वडाले समन्वय गर्न सक्ला तर घर छाडेर विभिन्न सहरमा बसेकाहरुको सहारा अहिले कोही पनि बन्न सकिरहेको छैन । कोठा लिएर बस्नुभएका अपाङ्गता भएका व्यक्तिलाई जसरी पनि राहतको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

अपाङ्गमैत्री क्वरेन्टीन

देशका विभिन्न ठाउँमा आइसोलेसन वार्ड र क्वरेण्टीनहरु बनेका छन् । ती पूर्वाधार अपाङ्गतामैत्री छैनन् । अपाङ्गता भएका व्यक्ति पनि कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्छन् भन्ने हेक्का कसैले राखेनन् । 

विश्वभर कोरोनाका बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । नेपालमा पनि त्यो दिन नआउला भन्न सकिँदैन । अपाङ्गता भएका मानिस पनि कोरोनाबाट सङ्क्रमित भए भने के गर्ने भन्ने तयारी आजैदेखि गर्नुपर्छ । राज्यले यो विषयमा घनीभूत छलफल गर्नुपर्थ्यो । त्यसैले यस्ता प्राविधिक कुरामा सबै पक्षले ध्यान दिनुपर्ने देखिन्छ ।

सञ्चारको समस्या 

कान नसुन्ने र आँखा नदेख्नेलगायतका समस्या भएका व्यक्तिका लागि ‘कम्युनिकेसन’ कसरी गर्ने ? उनीहरुलाई के भएको भनेर सोध्न सक्ने क्षमता स्वास्थ्य संस्थामा छैन । स्वास्थ्य संस्थाहरुले त्यसको तयारी गरिरहेका छैनन् । उनीहरुलाई सङ्क्रमण भइसकेको रहेछ भने कसैलाई थाहा नहुने अवस्था छ । किनभने अहिलेसम्म त्यो खालको संयन्त्र बन्न सकेको छैन । 

उनीहरुले आफ्नो शरीरको समस्या बताउन सक्दैनन् । त्यसैले उनीहरुसँग ‘कम्युनिकेट’ गर्ने मान्छे ‘स्ट्याण्डबाइ’ राख्नुपर्यो । राज्यले यो विषयमा घनीभूत रुपमा सोच्नुपर्ने देखिन्छ । यी विषयमा जसरी छलफल हुनुपर्ने थियो, त्यसरी हुन सकिरहेको छैन । यहाँसम्म कि अपाङ्गता भएका व्यक्ति कहाँ कहाँ छन् भनेर सोध्ने र खोज्ने काम समेत भएको छैन ।

अपाङ्गमैत्री सञ्चार सामग्री

कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने विषयमा जति पनि सञ्चार सामग्री उत्पादन भएका छन् ती अपाङ्गमैत्री छन् जस्तो लाग्दैन । सचेतना कान नसुन्ने, आँखा नदेख्ने र बोल्न नसक्नेदेखि सबै समस्या भएकालाई चाहिन्छ । सञ्चार सामग्री सबैको पहुँचमा हुनुपर्यो । राज्यले सचेतनाका सामग्री तयार गर्दा सबै वर्गलाई छुनेगरी निर्माण गर्नुपर्ने देखिन्छ । उदाहरणको लागि कोरोना क्याप्सुल कार्यक्रम उज्यालो रेडियोमार्फत प्रसारण हुँदै आएको छ ।

त्यस्ता खालका कार्यक्रमलाई बहिराको पहुँचमा कसरी लैजाने ? त्यसैले राज्यदेखि निजी क्षेत्रले पनि सामग्री तयार पार्दा सबै प्रकारका व्यक्तिको पहुँचमा कसरी पुर्याउने भन्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ । हामी राष्ट्रिय अपाङ्ग महासङ्घले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन र प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नाममा सम्बोधनको क्रममा दोभासे राख्यौँ । यतिले मात्रै त कहाँ पुग्छ र ? 

(राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष शर्मासँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार २९, २०७८

मित्रलाल शर्मा

शर्मा राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया