विदेशमा रहेका शुभचिन्तकहरुको मौनताको अर्थ

 बैशाख १३, २०७७ शनिबार १३:१५:८ | कुमार रञ्जित
unn.prixa.net

टोलछिमेक, साथीसङ्गी र नाताकुटुम्बमार्फत थुप्रै परिचितका साथै आफन्तका विदेशमा रहेका बन्धुहरुबाट लकडाउनको तेस्रो सातापछि नमिठो लाग्ने कुरा सुन्न थालिएको छ । दिन प्रतिदिन सामाजिक सञ्जालमार्फत परिवारजनको शुभचिन्ता प्रकट गर्दै सुखद् भविष्यका लागि मार्गनिर्देशन दिइरहने परिचितहरु लकडाउनका दुई साता पुरै मौन रहेका थिए ।
उनीहरुको मौनताले मातृभूमिबासी शुभचिन्तकहरुलाई झस्काइरहेको थियो । आफू परदेशमा रहेर पनि सधैँ परिवार, समाज र देशका लागि केही उदाहरणीय काम गर्न उत्प्रेरित गरिरहने शुभचिन्तकहरु विश्वभरि कोरोना महामारी फैलिएको समाचारसँगै मौन हुँदै गएका थिए । 
लकडाउन नेपाली समाजमा अभूतपूर्व आँधीबेहरीझैँ आयो । यसले समाजमा प्रचलित कैयौं देखिने र नदेखिने चालचलन र अवयवहरुलाई उडाएर लगेको छ । यस्तै परिस्थितिमा अहिले विद्वत्हरु विश्वमा प्राणीको उत्पत्ति देखिकै विनाशकारी घटनाहरुको पुनर्मूल्याङ्कन गरिरहेका छन् । तथापि उनीहरुले कुनै ठोस निष्कर्ष निकाल्न सकेका छैनन् ।
लकडाउनअघिसम्म विदेशिएका परिचितहरु लास बनाइएर बाकसमा फर्काइएको देख्नुपर्दा असह्य पीडा हुन्थ्यो । त्यस्ता घटनामा कैयौं कथा र कविता लेखिएका छन् । श्रद्धाञ्जली र समवेदनाहरु प्रकट गरिएका छन् । अहिले विदेशमा बितेका परिचितहरुका लास पनि ल्याउन नसकिएकोमा असीम पीडा छ । यस्तै पीडाबोधकाबीच ती सबै मौन परिचितहरु बोल्न थालेका छन् । उनीहरुले आफ्ना मौनताको अर्थ सुस्तरी व्याख्या गर्न थालेका छन् । 
बि.स. २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि हाम्रो पीडाका क्षणहरुमा सहानुभूति प्रकट मात्रै होइन, आर्थिक र भौतिक रुपमै सहयोग गरेका अनुहारहरु यतिबेला मलिन छन् । असीम पीडा बोकेको अनुभवसहित दुखेसो व्यक्त गर्न नसकिने अवस्थामा देखिन्छन् । 
पच्चीस वर्षअघि कमाउने भनेर विदेशिएका एक परिचित दाजुको मृत्यु भएको अपुष्ट खबर अचानक आयो । उनले कति कमाए वा गुमाए त्यसको हिसाब गर्ने बेला होइन यो । तर लास हेरेर सद्गति गर्ने अवसरबाट पनि वञ्चित भएको परिवार र मित्रगण देखेर वर्णन नै गर्न नसकिने पीडा भएको छ ।
केही नपुग्दो थिएन । काठमाडौँको चक्रपथबाट केही पर राम्रै खेती थियो । आमाबुबा, दाजुभाइ र श्रीमतीसहित छोराछोरी सबै हाँसीखुसी नै थिए । घर चाहिँ पुरानै ढङ्गको थियो । जसबाट आमाबुबाबाहेक अन्य परिवारजनलाई सन्तुष्टि थिएन । खेत बेचेर नयाँ घर बनाउन आमाबुबाले मान्नुभएको थिएन । साँघुरो गल्ली र चोकभित्रको घर परिवार ठूलो हुँदै गएपछि घरको आकार र कोठाहरु नपुग हुँदै गएको थियो । महत्वाकाङ्क्षाको दियोमा तेल थप्ने काम यही बिन्दुबाट भएको थियो । 
धेरैले भन्ने गर्छन् कि मोफसलबाट काठमाण्डौ उपत्यका छिरेर यहीँ घडेरी किन्दै घर बनाउने चाहना राख्नेहरुका कारण यहाँका अधिकांश खेतबारी मासियो । यो कुरामा सत्यता भएपनि यथार्थमा नयाँ घर बनाउने होड यहाँका रैथानेहरुमा पनि उहिलेदेखि रहेको पाइन्छ । 
छोरा जवान र वयस्क भएपछि कसैले आफ्नो बलबुत्ताले एउटा घर बनाए भने न्हुछेँ अर्थात् नयाँघरे भन्ने गरिन्थ्यो । समयकालले न्हुछेँ छोराको पहिलो नामाकरण गरिने चलन नै चल्न थाल्यो । अहिले पनि न्हुछेँ नाम भएको कोही नेवाः भेटियो भने निश्चित छ, उनका पितापुर्खाले नयाँ घर बनाएका बेला जन्मिएको हुनाले उनको नामाकरण गरिएको थियो । एउटा न्हुछेँ प्रधान थर नै छ, नेवाः समाजमा । काठमाण्डौको केन्द्रमै रहेको मरु टोलबाट फैलिएको मानिन्छ यो थरको परिवार । जुन मेरो थर इतिहासको एउटा उदाहरणीय वर्णन गरिनेमा परेको छ ।
यसरी नयाँ घर बनाउने आवश्यकता र त्यस अनुरुपको रोजगार देशमै नरहँदाको अवस्थाले राजधानीकै कैयौँ बासिन्दा समुद्रपारीको रोजगारीमा धकेलिएका छन् । उच्चशिक्षा प्राप्तिका लागि गएर उतै घरजम गर्नेहरु पनि बढ्दै गएका छन् । देशका दुर्गम तथा रोजगारीको कुनै अवसर नभएका क्षेत्रबाट ओइरिने ताँतीको व्याख्या गरिनसक्नु त छँदैछ । यसरी राजनीतिदेखि अर्थनीतिसम्म जोडिने नमिठो परिस्थितिले समृद्धि देशभित्र होइन कि विदेशतिर पो छ कि भन्ने भ्रम दशकौँदेखि दिइरहेको छ । 
एउटा नयाँ घर बनाउन पनि विदेशिनु पर्ने परिस्थिति भोगेका साथीले घर बनाइसकेपछि पनि त्यसको बाँकी ऋण तिर्न र छोराछोरीलाई समयानुकूल शिक्षादीक्षा प्रदान गर्न फेरि विदेशिनु पर्ने बाध्यता रहेको बताउँथे । ती मित्रले आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई समयावधि नै तोकेर आफू फर्किने साल र महिना दिएर गएका थिए । 
उनी परिवार र अन्य मित्रहरुसित पनि सामाजिक सञ्जालमा त्यस्तै कुरा दोहोर्याइरहन्थे । त्यस्ता सम्पूर्ण कुराहरु अब सम्झन नसकिने स्मृति भएका छन् । त्यस्ता सपना बोकेर विदेशीभूमिमा श्रम गरिरहेका साथीका सपना अहिले कोरोनाले बिथोलिएको छ । 
थुप्रै कारणले मित्रहरु मौन थिए । विदेशी भूमिमा दिन प्रतिदिन अज्ञात रोगको कारण गुमाउन परेका मित्रजनहरुका आत्माको शान्तिका लागि पनि उनीहरु मौन थिए । उनीहरुको मौनताको अर्थ शून्य थिएन । बरु बोधगम्य थियो । देशबाट टाढिनु परेकोमा पीडा थियो । चाहेर पनि बस्न सकिने अवस्था नरहेपछि छोड्न बाध्य भएको मातृभूमिको माया थियो । अहिले चाहेर पनि विदेशी भूमि त्यागेर मातृभूमि फर्किन नसकेको पीडा थियो ।
कोरोनाको कहर कहिलेसम्म रहला । कहरपछि पनि विश्व अर्थव्यवस्था कस्तो रहने हो भन्ने निराशाजनक व्याख्याहरु विद्वानहरुबाट पढ्न पाइएका छन् । तर यस्तोमा पनि स्वदेशमा रहेर वैदेशिक रोजगारको सपना बुनिरहेकाहरु र वैदेशिक रोजगारमा रहेर स्वदेशमै फर्केर केही गर्ने चाहना राख्नेहरुका मौनताले निकास पाउन सकिरहेको छैन । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया