'लकडाउन'को सकारात्मक प्रभाव : प्रदेशका मन्त्री प्रविधि पछ्याउँदै

 बैशाख १३, २०७७ शनिबार १६:४०:२८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ -  प्रदेश १ का मन्त्रीहरु पछिल्लो समय प्रविधिमार्फत आफ्ना कुरा राख्न पोख्त हुन थालेका छन् । लकडाउन पूर्व पत्रकारलाई समय दिन नभ्याउने मन्त्रीहरु आजकाल आवश्यक परेका बेला आफ्नो कुरा राख्नपर्‍याे भने भिडियो कलमा सहजै उपस्थित हुन्छन् । 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की दैनिक चार पटकभन्दा बढी भिडियो कन्फ्रेन्समा व्यस्त हुनुहुन्छ । मन्त्री कार्की मिडियासँग र सुरक्षा निकायसँगको छलफलसमेत भिडियो कन्फ्रेन्समार्फत नै गर्नुहुन्छ । 

हरेक महिना वा महिनाको दुई पटक प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हुने छलफल पनि प्रविधिको प्रयोगमार्फत हुने गरेको मन्त्रीका स्वकीय सचिव रवि खनालले बताउनुभयो ।

मन्त्री कार्की मात्र हाेइन ह्वाट्स एप, म्यासेन्जर, जुम, भाइबर तथा स्काइपमा कुरा गर्न भ्याइ-नभ्याइ  हुने अर्काे मन्त्री हुनुहुन्छ, सामाजिक विकास मन्त्री जीवन घिमिरे ।

हरेक दिन भिडियो कन्फ्रेन्समा व्यस्त हुने मन्त्री घिमिरे शिक्षा, स्वास्थ्य, खेलकुद, युवा, श्रमिक, उद्योगी व्यवसायी तथा वैज्ञानिक र शिक्षकसँग कुराकानी गर्नुहुन्छ । बाहिर कसैले संवाद, बैठक, कुनै छलफलमा बोलाउँदासमेत उहाँ जुम एप्लीकेशनबाट कुरा गर्न सकिन्छ नि, भन्दै सुझाव दिनुहुन्छ ।  

आफ्नै घरबाट सबैले अत्यावश्यक छलफलमा सहभागिता जनाउन सक्ने भएकाले प्रविधिले सबैलाई नजिकै बनाएको मन्त्री घिमिरेको भनाइ छ ।

प्रविधिलाई खासै चासो नदिने मन्त्रीहरु पनि पछिल्लो समय यसरी नै बैठक बस्ने गरेका छन् । सङ्घीय सरकारका मन्त्रीहरुले विभिन्न सफ्टवेयरको प्रयोग गरेर सबै प्रदेशका मन्त्रीहरुसँग कुराकानी गर्न थालेका छन् । 

प्रदेशका मन्त्रीहरु पनि समयअनुसार प्रविधिको प्रयोगमार्फत नै आवश्यक छलफल गर्ने गर्छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत पनि आजकाल प्रविधिकै प्रयोग गरेर छलफल गर्ने गर्नुहुन्छ ।

मन्त्री कुसियैतले शुक्रबार विज्ञानको प्रयोग र वैज्ञानिक परिचालनबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भिडियो कुराकानी गर्नुभयो ।उहाँ भन्नुुहुन्छ, ‘भौतिक रुपमा दुरी टाढा भए पनि हामीले गर्ने हरेक कामको सिकाइ र अप्ठ्यारोमा सजिलोको लागि प्रविधिको प्रयोग गर्ने गरेका छौँ ।’

मन्त्री कुसियैतले शुक्रबार नेपालमा रहेका रोबर्टिक्सहरुलाई भरपुर रुपमा प्रयोग गर्ने बारेमा छलफल भएको बताउनुभयो । प्रत्येक क्वरेण्टीन र आइसोलेशन वार्डहरुमा रोबर्टको प्रयोग गर्न सकिने बारेमा सङ्घीय मन्त्रीसँग कुरा भएको उहाँले बताउनुभयो । प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बो पनि मन्त्रालयलगायतका काम, आन्तरिक रुपमा दलहरुसँगको छलफल भिडियो कन्फ्रेन्सबाट गर्नुहुन्छ ।  

प्रदेशका कृषि राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्विरबाबु गुरुङ पनि बेला-बेला प्रविधिलाई पछ्याउँदै छलफलमा सहभागी हुने गरेको बताउनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया