भारतमा नेपालीको जीवन कष्टकर बन्दैछ सरकार !

 बैशाख १४, २०७७ आइतबार १८:३:४९ | प्रमोद सिंह साउद
unn.prixa.net

भारत सरकारले लगाएको लकडाउनको कारण भारतमा रहेका नेपालीहरुको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । बन्दाबन्दीको कारण दैनिक गर्ने मजदुरी ठप्प भएको छ । पेट पाल्न गरिने काम ठप्प भएपछि लाखौँ नेपालीहरु भारतमा कष्टकर जीवन बिताइरहेका छन् । 

भारतमा प्रायः नेपालीले गर्ने काम होटल र रेस्टुरेन्टमा हो । लकडाउनको कारण होटल र रेस्टुरेन्ट बन्द भएपछि उनीहरुको रोजीरोटी गुमेको छ । दिनभर ज्याला मजदुरी गरेर गुजारा चलाउने नेपालीहरु अहिले भोकभोकै छन् । 

छाक टार्न गार्हो

हाम्रो सङ्घको अनुसार उत्तर प्रदेश राज्यमा मात्रै डेढ लाख नेपाली कार्यरत छन् । उनीहरुमध्ये अधिकांश मजदुरी गर्नेहरु छन् । ठप्प भएसँगै उनीहरुले साँझ बिहानको छाक टार्न पाइरहेका छैनन् । 

हाम्रो सङ्घ भारतमा स्थापना भएको करिब ६० वर्ष भयो । यो संस्थाले प्रवासमा रहेका नेपालीहरुका समस्या के छन्, ती समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे काम गर्छ । 

अहिले समस्यामा परेका नेपालीहरुको दिनहुँ फोन आउँछ । कोही खाना खान नपाएको तीन÷चार दिन भइसक्यो भन्छन् । कोही खान बस्न नै समस्या भयो भन्छन् । हामी सकेजतिलाई सहयोग गर्दै आइरहेका छौँ । तर यस्तो अवस्थामा सबै नेपालीलाई सहयोग गर्न सकिरहेका छैनौँ । 

कतिपय ठाउँमा भारत सरकारले बिहानको एक छाक पकाएर खुवाइरहेको छ । तर सबै जिल्लामा यस्तो सुविधा छैन । रासन कार्ड भएका नेपालीहरुलाई भारत सरकारले खाद्यान्न उपलब्ध गराउँदै आएको छ । तर उत्तर प्रदेशमा काम गर्ने धेरैजसोसँग न रासनकार्ड छ न त नागरिकता नै । उनीहरु कुन देशका हुन् भन्ने  प्रमाणपत्र नहुँदा पनि उनीहरुले भोकै बस्नुपरेको छ । 

प्रदेश सरकारले सुनेन 

उत्तर प्रदेशमा भएका अधिकांश नेपाली सुदूरपश्चिम प्रदेशका छन् । उनीहरुको उद्धारका लागि म आफैँले पनि सुदूरपश्चिम प्रदेश सरकारलाई कति पटक आग्रह गरेँ । तर, कुनै प्रतिक्रिया आएन ।

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री झटबहादुर बोहोरा र सांसद झपट रावललगायतलाई जानकारी गराएँ । तर, मन्त्री र सांसदले मेरो कुरा सुन्नुभएन ।
म यहीँबाट केन्द्र सरकारलाई आग्रह गर्छु ।  समस्यामा रहेका नेपालीको उद्धार गर्न नसके पनि भारतीय सरकारमार्फत वा प्रदेश सरकारमार्फत खान नपाएका नेपालीहरुलाई पेट भर्ने व्यवस्था गरिदिनुस् । 
प्रवासी नेपाली सङ्घले नेपालमा भूकम्प आउँदा र बाढीपहिरो आउँदा सहयोग गर्दै आयौँ । तर, अहिले हामीलाई विपद् पर्दा नेपालको कुनै तहको सरकारले सुनेन ।

दूतावास पनि उस्तै

नेपाल सरकारबाट कुनै जवाफ नपाएपछि हामीले नेपालीको पीडा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासलाई पनि नसुनाएको होइन । तर दूतावासले पनि कुनै प्रतिक्रिया जनाएन ।

दुःखमा परेका आफ्नै नागरिकको लागि राज्यले चासो नदिँदा भारतमा रहेका नेपालीहरु दुःखी भएका छन् । बन्दाबन्दी भएपछि रोजगारीको क्रममा भारतमा रहेका नेपालीहरुले भारतमा रहेको हाम्रो प्रवासी सङ्घलाई आफ्नो दुःख सुनाउन थालेका छन् ।

राहत वितरण

भारतमा प्रायः नेपालीहरुले परिवार लिएर बस्ने र परिवारबाट एक जनाको मात्रै जागिर हुने भएकोले यतिखेर परिवारसहित भारत पसेका नेपालीहरु बढी समस्यामा छन् । परिवारसहित आएकाहरु कोही गर्भवती छन् । उनीहरुले भोकै बस्नुपरेको छ ।

भारतमा लामो समयदेखि बसोबास गरिरहेका वा कुनै सङ्घसंस्था खोलेर बसिरहेका नेपालीहरुले आपत्मा परेका नेपालीलाई खाद्यान्न सहयोग गरिरहेका छन् । पाँच किलो चामल, दाल र पिठो वितरण गरिरहेका छन् । मैले पनि मेरो होटलबाट खानेकुरा पकाएर दिने गरेको छु । 

नेपाल सरकारले के गर्छ ?

भारत मई तीन तारिखसम्म बन्द छ । त्यसपछि फेरि लकडाउन थपियो भने झनै मुस्किल हुने छ । समस्या पर्दा मान्छे नराम्रो काममा फस्छन् । भोको पेटले मान्छेलाई पाकेटमारदेखि लुटेरासम्म बनाउँछ । अब डर लाग्न थालेको छ । कतै नेपालीको भोको पेटले यस्तै बाटो त देखाउने होइन ।

अरुले दिएको खानेकुरा एक छाक या दुई छाकलाई हुन्छ । भारतमा समस्यामा रहेका नेपालीका लागि नेपाल सरकारले के गर्न सक्छ ? सरकारले हाम्रो दुःख हेरेर बसिरहन्छ भने मेरो भन्नु केही छैन । नत्र सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई हेर्नै पर्छ ।

(साउदसँग इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित)  

अन्तिम अपडेट: भदौ २५, २०७८

प्रमोद सिंह साउद

साउद प्रवासी नेपाली सङ्घ भारतको केन्द्रीय सदस्य हुनुहुन्छ ।

2 Comments

  • Dhan bahadur dhanuk

    April 26, 2020, 6:20 p.m.

    I do not understand What i need to say about my country at this time I’m feel guilty become a Nepali I just want to say o Nepal government look it Bhutan this country very small very poor then Nepal but Bhutan is rescue his people that’s it

  •  0 Reply
  • hoom Kc

    April 26, 2020, 6:10 p.m.

    Nepal govt. will do nothing.. I have written so many times to the Nepal Embassy however nothing has been done will now

  •  0 Reply

तपाईको प्रतिक्रिया