घरभित्रै बस्ने भनेको कोठामै थुनिने होइन

 बैशाख १८, २०७७ बिहिबार १३:४१:५५ | डा. गोविन्द गौतम
unn.prixa.net

काठमाण्डौ - लकडाउन मानव कल्याणकै लागि गरेको हुनाले निराश हुनुपर्ने केही छैन । हुन त कोठाभित्र बस्न गार्हो नै छ । तर कोठाभित्र बसेर केही पनि गर्न हुन्न भन्ने छैन । कोठाभित्र भुल्ने कुराहरु धेरै छन् । लामो समय पनि भयो । अब बिस्तारै यसलाई खुकुलो गर्ने कुरा चलिरहेको छ । अझै केही दिन लाग्ला । तर खुकुलो भइहाले पनि पहिलेको जस्तो खुलेआम हिँड्न नमिल्ला । 

घरभित्रै बस्ने भने पनि कोठामै थुनिने भन्ने होइन । बारी होला । घरको आँगन होला । त्यहाँ डुल्न सकिन्छ । घरभित्र अन्य कुराहरु होलान् जसमा हामी समय बिताउन सक्छौँ । किताबहरु पढ्न सक्छौँ । केही लेख्न सक्छौँ । त्यही भएर आत्तिहाल्नु पर्ने छैन । हामी नआत्तिएर बस्यौँ भने सम्पूर्ण समुदाय र राज्यलाई फाइदा हुन्छ ।

यो खेती गर्ने बेला भएकोले किसानलाई यो मौका उम्क्यो भने खेती हुँदैन । त्यही भएर केही प्रक्रिया अपनाएर खेती गर्न सक्छौँ । जस्तो रुघाखोकी लागेको छ भने काममा नजाने, दूरी कायम गरेर र नियन्त्रणका उपायहरु अपनाएर रोग नियन्त्रण गर्न सक्छौँ । पहिलेकोजस्तो भोजभतेर गर्ने, हिलो छ्याप्ने गर्नुभएन । व्यवहारिक भएर समाज, राज्य र सिङ्गो संसारकै जिम्मेवारी लिएर हामीले किसानी गर्दा केही फरक पर्दैन ।

हामीले संस्कार मान्नुपर्छ । तर हाम्रा धर्म र संस्कार मान्नका लागि भिडभाड गर्नैपर्छ भन्ने छैन । जस्तै जन्म र न्वारनका कुराहरु छन् । पहिलेको जस्तो छिमेकी बोलाएर भोज खुवाएर गर्न मिलेन । तर घरभित्रै पूजाआजा गरेर न्वारन गर्न मिल्छ । प्रमुख कुरा भनेको भिडभाड गर्नुभएन । घरभित्रैका सदस्यहरुले गर्न पाइयो ।
मलामी जाने कुरामा पनि गइहालौँ न भनेर एक एक गर्दागर्दै धेरै हुन्छन् । यस्तोमा हामी आफैँ सचेत भएर लाग्नुपर्छ । यसमा कुनै कानुन र जबरजस्ती छैन । चेतनाको कमीले हो । मान्छे आफैँ सचेत भएर गर्ने कुरा हुन् । हाम्रा पुर्खाले पनि गर्थे । धोती लगाएर खाने, नजिक नबस्ने, टाढाबाट नमस्कार गर्ने । यस्ता राम्रा संस्कार पहिलेदेखि नै थिए ।

यदि कोही रुघाखोकी लागेको व्यक्ति छ भने त्यस्तोले मलामी अथवा अरु कुनै पूजा कार्यक्रममा नगइदिनुहोला । हामीले दुःख पोख्नु नै छ भने मलामी गइरहनुपर्दैन । घरबाटै आत्माबाटै दुःख पोखौँ । सकेसम्म कम भिडभाड गरौँ । नगई नहुने ठाउँमा मात्र जाउँ, अनावश्यक नजाऔँ । किनकि यो परिस्थिति यस्तै छ । हामीले समाज बचाउनु छ, देश बचाउनु छ ।

अत्यावश्यक कामको लागि बाहिर जानुपर्ने हुन्छ । त्यस्तो बेला बाहिर जाँदा र बाहिर गएर आउँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । हामीले जिम्मेवार नागरिक भएर रोगविरुद्धका नियमहरुको पालना गरौँ । पसलमा जाँदा पनि भिडभाड नगरौँ । सहरतिर गोलो घेरा लगाएको देखेको छु । यस्तो गाउँतिर पनि गरौँ । पसलभित्र ग्राहकलाई छिर्न नदिऔँ । मेडिकलमा पनि यस्तै सुरक्षाका उपायहरु अपनाइएका छन् । 

यो मौसम परिवर्तनको समय हो । यतिबेला रुघाखोकी लाग्ने, ज्वरो आउने हुन सक्छ । मानिसहरु आत्तिएर कोरोना पो हो कि भनेर डराउन सक्छन् । तर यतिबेला हामीले बुझ्नुपर्छ कि ज्वरो कोरोना लाग्दा मात्र आउँदैन । ज्वरोलाई अहिले महत्त्व दिनु भनेको कोरोनाको लक्षण भएकोले हो । यो सामान्य लक्षण हो । ज्वरो धेरै रोगहरुको लक्षण हो । जस्तो सामान्य रुघाखोकीमा पनि ज्वरो आउँछ । टाइफाइड हुँदा पनि ज्वरो आउँछ । तर अहिले कोरोनासम्बन्धी विश्वव्यापी समस्या भएकोले हामीलाई ज्वरो लाग्दा डर लाग्छ ।

स्वास्थ्य चौकीमा गएर जचायौँ भने ज्वरो किन आएको भन्ने थाहा हुन्छ । त्यसको लक्षण छुट्याइन्छ । ज्वरो यदि कोरोनाको कारणले हो भने त्यस्तो बिरामीलाई आइसोलेसनमा राखिन्छ । जस्तो पित्तथैलीको रोगले ज्वरो आयो भने त्यो अवस्थामा आइसोलेसनमा राख्नुपरेन । तर कोरोना एकदमै चाँडो सर्ने भएकोले त्यसको लक्षण देखिएमा बिरामीलाई छुट्याएर राख्नुपर्छ ।

यतिबेला धेरै जना गाउँघर पुगिरहेका छन् । जनप्रतिनिधिहरुको पहलमा काठमाण्डौबाट धेरै मानिसहरु गाउँ पुगेका छन् । यस्तो बेला उनीहरुले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कोरोना सङ्क्रमण नभएको ठाउँबाट गएका छन् भने त्यति धेरै डराउनु पर्दैन । त्यही पनि उनीहरु जाँदा दूरी कायम राख्ने र १४ दिनसम्म सेल्फ क्वरेण्टीनमा बसिदिए राम्रो हुन्छ । उनीहरुलाई सङ्क्रमण भएको ठाउँबाट पठाएको छ जस्तो मलाई लाग्दैन । 

गाउँका मानिसहरुले नयाँ व्यक्तिलाई देखेर छुवाछुतको व्यवहार गर्नुभएन । आखिर लकडाउनको बेला कसैले केही गर्दैन । सबै गएर घरभित्र नै बस्ने हो । 
हाम्रो देशमा कोरोनाको असर एकदमै जटिल अवस्थामा गएको देखिँदैन । बिरामी भएकाहरु निको भएर सामान्य अवस्थामा फर्किएका छन् । उनीहरुले उपचारका क्रममा भोगेका कुराहरु गाउँघरमा साटे भने जनचेतनाको लागि प्रभावकारी हुन्छ । मिडियामा भन्नुभन्दा प्रत्यक्ष रुपमा भनेको सबैले बुझ्छन् ।

सङ्क्रमण भेटिएको ठाउँमा त्यहाँका नागरिकले बढी सतर्कता अपनाउनुहुन्छ । तर सङ्क्रमण नदेखिएका ठाउँमा पनि सतर्कता अपनाउनुपर्छ । किनकि कतिपय ठाउँमा यो भाइरसले लक्षण देखाउँदैन । कुन व्यक्तिमा भाइरस छ भनेर हामीलाई थाहा हुँदैन । कसैलाई बिस्तारै जटिल बन्दै रोग बढ्न सक्छ, कसैलाई कुनै लक्षण नदेखिएरै रोग निको हुन सक्छ । त्यसैले यहाँ लक्षण देखिएको छैन भनेर हामी ढुक्क हुनुहुँदैन ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई एक तह सुरक्षित राखेको छ । त्यो भनेको यहाँ रोग महामारीको रुपमा फैलिएको छैन । विदेशबाट आउने केहीलाई देखिएको छ । तर उनीहरुको परिवारको अरु सदस्यलाई जाँच्दा देखिएन । यो हिसाबले  नेपाल तेस्रो चरणमा नजाला भन्ने मलाई लाग्छ । 

सरकारले बेलैमा लकडाउन गरेकोले कोरोना धेरै फैलिन पाएन । सरकारको यो कदम एकदमै प्रशंसनीय हो । अर्को कुरा राज्यले हेर्नुपर्ने भनेको सामाजिक कुरा हो । जस्तो मजदुरको समस्या र खाद्यान्न आपूर्तिमा सरकारले ध्यान दिनुपर्ने हुन्छ । 

विश्व महामारीको इतिहास हेर्ने हो भने महामारी एक चरणमा आएको छ, सयौँ र हजारौँलाई प्रभावित गरेर हराएको छ र केही समयपछि फेरि आएको छ । त्यही भएर हामीले पनि अहिलेलाई नियन्त्रण भइहाल्यो भनेर ढुक्क नबनौँ । अहिलेका अनुशासनका कुराहरु सधैंलाई पालना गरौँ । राज्यले यी कुरालाई मध्यनजर गर्दै नियम बनाओस् । जस्तै भूकम्प जाँदा दोस्रो भूकम्प फर्किन्छ र झन् खतरा हुन्छ भनेजस्तै महामारीको इतिहास हेर्दा पनि त्यस्तै देखिएको छ ।

हामीले सरसफाइ गर्ने, दूरी बनाएर बस्ने, भिडभाडमा नजाने, स्वस्थकर खानेकुरा खाने भनेको आफ्नै फाइदाका लागि हो । यी कुराहरु गर्न राज्यले लकडाउन गर्नुपर्ने अवस्था नआओस् । 

हामीले घरमै बसेर स्वस्थ रहनको लागि विभिन्न कुरा गर्न सक्छौँ । हामीले यो बेला व्यायाम गर्न सक्छौँ । अध्ययन गर्न सक्छौँ । तास खेलेर र मिठोमिठो खाएर मात्र नबसौँ । यसले नराम्रो असर पनि गर्न सक्छ । यस्तै केटाकेटीहरुसँग खेलेर,  बारीमा काम गरेर समय बिताउन सकिन्छ । 

अन्तिम अपडेट: असार २१, २०७७

तपाईको प्रतिक्रिया