अन्नपूर्ण हिमपहिरोमा हराएका थप दुईसहित सातै जनाको शव फेला

 बैशाख १९, २०७७ शुक्रबार १५:३६:५१ | सुमन गुरुङ
unn.prixa.net

काठमाण्डौ - अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कु केभ वरिपरिको हिमपहिरोमा परेर  बेपत्ता थप दुई जनाको शव शुक्रबार बिहान फेला परेको छ ।

यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । शुक्रबार नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो ।

चार दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा सहितको टोलीले बेपत्ता उनीहरुको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । 

उनीहरुको शव ल्याउनका लागि सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसमको प्रतिकूलताका कारणले घटनास्थलमा जान नसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

गर्मीयाम सुरु भएसँगै घटनास्थलमा जमेको बाक्लो हिउँ पग्लन थालेपछि पहिरोमा परेका अन्यको यसअघि विभिन्न मितिमा शव भेटिएको थियो । अन्नपूर्ण पदयात्राको क्रममा तीन हजार २०० मिटर उचाइमा रहेको हिङ्कु केभ वरिपरी गएको हिमपहिरोमा पर्यटक र नेपाली पथप्रर्दशक हराएका थिए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया