भारतसँगको सीमा व्यवस्थापन गर्न कोरोनाले जुराएको अवसर

 बैशाख २१, २०७७ आइतबार ११:५:४४ | सुमन दाहाल
unn.prixa.net

काठमामण्डौ - नेपाल र भारतबीच करिब १८ सय ५० किलोमिटर खुला सिमाना छ । यसमा निर्बाध रुपमा मानिसहरु आवातजावत गर्न पाउने व्यवस्था छ । पछिल्लो समय सीमामै पुग्नेगरी चार र छ लेनका पक्की सडकहरु बनेका छन् । हामीलाई थाहा छ, सडक भएपछि त्यसमा चोर पनि हिँड्छ र साधु पनि हिँड्छ । यस्तै भएको छ हाम्रा सिमानामा बनेका सडकहरुमा । एकातर्फ खुला सिमाना र अर्कोतर्फ सीमासम्म जथाभाबी बनेका चौडा सडकहरुले सीमा व्यवस्थापनमा असहजता निम्त्याएको छ । 

खुला र सहज सीमाको कारण विशेष गरेर सीमापार अवैध व्यापार बढ्ने खतरा त छँदैछ । विभिन्न किसिमका सामाजिक अपराधहरु सहजै हुन सक्ने डर पनि उत्पन्न भएका छन् । अहिलेको महामारीमा खुला सिमानाले हामीलाई झन् धेरै चिन्तित तुल्याएको छ । सीमावाट अनिच्छित मानिसहरु आवातजावत नगरुन् भनेर निगरानीका लागि पछिल्लो समय सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ । 

आजका दिनमा दुबै देशमा लकडाउनको कारण मानिसको हिँडडुल नियन्त्रण गरिएको छ जसले गर्दा सिमानामा पनि मान्छेको हिँडडुल रोकिएको छ । यसले सीमा व्यवस्थापनको लागि एउटा उचित विधि र तरिका हामीलाई सिकाइरहेको छ । यो विधि र तरिका कोरोनापछि पनि सिमानामा कायम गर्नको लागि हामीले अबको बाटो निश्चित गर्नु जरुरी छ । यसको लागि सीमा नजिक रहेका नागरिक र दुबै सरकार पनि सहमत देखिएका छन् । फलाम तातेको वेला नै हो हतियार बनाउने भनेजस्तै यस्तै पीडा र महामारीबाट सिकेर मानवजातिले इतिहासमा धेरै परिवर्तनहरु ल्याएका छन् ।

मलाई के लाग्छ भने यो महामारीले हामीलाई धेरै कुरा सिकाइरहेको छ । सरसफाइ र शारीरिक स्वास्थ्यमा यसले दिव्यज्ञान नै दिएको छ । यसले विकासका अन्य मोडलका बारेमा पनि सिकाएको छ । सामाजिक दूरी कायम गर्ने र क्वरेण्टीनमा बस्ने कुरा यसले सिकाएका ज्ञान हुन् जुन अबका विकास नीतिहरुमा पनि झल्किने छन् भन्ने अपेक्षा गर्न सकिन्छ । 

कति मूल्य चुकाइरहेका छौँ ?

सीमाको व्यवस्थित सञ्चालन कति आवश्यक छ भन्ने कोरोनाको कहरवाट हामीलाई ज्ञान प्राप्त भएको छ । आजसम्म ५९ जना कोरोना सङ्क्रमित नेपालमा भेटिएका छन् । उनीहरुमध्ये धेरैजसो सीमा बन्द भएपछि नेपाल प्रवेश गरेका छन् । अर्थात् सीमाको सुरक्षा र व्यवस्थापन गर्न असमर्थ भएको कारण हामीले आज यत्रो ठूलो मूल्य चुकाइरहेका छौँ । लकडाउन सुरु भएको दिनदेखि आजसम्म भन्सारबाट प्राप्त हुनसक्ने करिब २५ अर्ब राजस्व हामीले गुमाएका छौँ । हामीसँग भएका सङ्क्रमितको सङ्ख्या, हाम्रो अर्थतन्त्रको आयतन र हामीले गुमाएको राजस्वको परिमाणलाई विश्लेषण गर्दा विश्वमै सबैभन्दा बढी क्षति व्यहोरेको अर्थतन्त्र सायद हाम्रै होला । दुई सदस्यीय परिवारमा एक जना बिरामी हुँदा ५० प्रतिशत र तीन सदस्यीय परिवारमा एक जना बिरामी हुँदा ३३ प्रतिशत बिरामी भएको भनिन्छ । तर बिरामी हुनेको हिसाबले हेर्दा १ सय प्रतिशत नै बिरामी भएको हुन्छ । त्यस्तै अवस्था भइरहेको छ कोरोनाको विश्वव्यापी कहर र हाम्रो अर्थतन्त्रमा । 

भन्सार बिन्दुहरुको व्यवस्थापन

भन्सार भनेको दैनिक रुपमा सबैलाई चाहिने निकाय होइन । भन्सार भनेको वैदेशिक व्यापारको लागि एउटा बिन्दु हो । सबै नागरिकले वैदेशिक व्यापार गर्ने कुरा आउँदैन । व्यापारीले सामान आयात निर्यात गर्ने हो र उपभोक्ताले व्यापारीबाट सामान खरिद गरेर उपभोग गर्ने हो । यसरी सबैले आआफ्नो काम गर्नाले व्यापारले अर्थतन्त्रलाई निर्धारण गर्दछ । व्यापारले देशको समृद्धिलाई डोर्याउँछ । त्यसैले सकेसम्म स्वदेशी अर्थतन्त्र निर्माणको लागि स्वदेशी बन्द व्यापारलाई प्रश्रय दिन खोजिएको छ । आयातलाई घटाउँदै स्वदेशी उत्पादनलाई बढाउन खोजिएको छ ।

तर हाम्रो खुला सिमाना र सहज आवातजावतका कारण सानोभन्दा सानो परिमाणका सामानहरु पनि सीमापारिबाट ल्याउने सीमामा रहेको अर्थतन्त्रको कारण पनि सीमा व्यवस्थित गर्न सकिएको छ । हामी चम्चा लिएर खोलामा पानी लिन गइरहेका छौँ । खोलावाट ट्याङ्करमा आयातकर्ताले ल्याउँछ । ट्याङ्करबाट बाल्टीमा होलसेलरले ल्याउँछ । बाल्टीबाट गिलासमा रिटेलरले ल्याएपछि हामीले चम्चा लिएर पसलमा जानुपर्ने होइन र ? हामी उपभोक्ताहरुले नै आयातकर्ताको समेत काम गरिरहेका छौँ । यसले अर्थतन्त्रको चेनलाई  टुक्रयाइदिएको छ । 

नेपाल भारतबीचको करिब १८ सय ५० किमि लामो सिमानामा २६ वटा मूल र १ सय ३३ वटा छोटी भन्सारहरु छन् । तीमध्ये ६ वटा मूल (मेची, वीरगञ्ज, सुख्खा बन्दरगाह, विराटनगर, भैरहवा र नेपालगञ्ज) भन्सारबाटै ९० प्रतिशत वैदेशिक व्यापार हुन्छ र त्यही परिमाणमा राजस्व सङ्कलन हुन्छ । बाँकी १० प्रतिशत व्यापार र राजस्वका लागि हामीले त्यति धेरै भन्सार चलाइरहेका छौँ । जुन लागत प्रभावी छैन । त्यसमाथि पर्याप्त उपयोगी पनि छैनन् ।  

सीमामा रहेको अर्थतन्त्रको कारण पनि कतिपय भन्सारहरु सञ्चालनमा छन् । जसलाई निरुत्साहित गरेर स्वदेशी बजारहरु बढाउन सकिन्छ । स्वदेशी बजारहरु गुलजार बनाउन र सीमालाई व्यवस्थित गर्न कोरोना महामारीले हामीलाई उचित अवसर प्रदान गरेको छ । हामीलाई सबक सिकाएको छ । हामीलाई सोच्न बाध्य बनाएको छ । हामीले यो अवसर गुमाउनु हुँदैन । 

उहिले हाम्रो तराईमा हुने धानचामलको उत्पादन र काठपातलाई निकासी गर्न तत्कालीन उद्देश्यका लागि खडा गरिएका छोटी भन्सारहरुको महत्त्व, उद्देश्य, औचित्य र आवश्यकताबारे अबका दिनमा फरक तरिकाले सोच्नुपरेको छ । उहिलेभन्दा अहिले गाउँ र ठाउँहरु फेरिएका छन् । बाटाघाटाहरु पनि फेरिएका छन् । जसले गर्दा पुराना छोटी भन्सारहरुको सान्दर्भिकता हराएको हुनाले तिनीहरुको पुनर्संरचना जरुरी भएको छ ।

बरु सीमामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा पोष्टहरु राख्नु जरुरी छ । मानवीय आवातजावतलाई अभिलेखबद्ध गर्दै स्वचालित बनाउन र निश्चित बिन्दुहरु प्रयोग गरेर वैदेशिक व्यापारलाई अगाडि बढ्न यो समयले हामीलाई झक्झक्याएको छ । 

अन्तिम अपडेट: कात्तिक २१, २०७८

सुमन दाहाल

दाहाल भन्सार विभागका महानिर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया