काठमाण्डौ उपत्यकामा भित्रन खोज्ने १ सय ३ वटा गाडी फर्काइए

 बैशाख २४, २०७७ बुधबार १५:४२:३४ | रासस
unn.prixa.net

काठमाण्डौ - पछिल्लो समय विभिन्न बहानामा काठमाण्डौउपत्यकामा भित्रने गाडीको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १ सय ३ वटा गाडी फर्काइएको छ । 
 
पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ गाडी बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । काठमाण्डौको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको छ ।

आजै काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै उपत्यका भित्रन खोज्ने गाडी र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुग्नुभएको थियो । उपप्रमुख खड्गीलाई जानकारी लिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी सोमबार ३७ गाडीलाई यहीँबाट फकाईएको र  मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताउनुभयो ।
 
काठमाण्डौमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका छन् । नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने गाडीको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर गाडीलाई भित्र आउन दिने गरेको छ ।

अनुगमनको क्रममा उपप्रमुख खड्गीले गाडी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, गाडी कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिनुभएको थियो भने मास्क नलगाइ गाडी चलाउने चालकलाई मास्क वितरण गर्नुभएको थियो । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० गाडी भित्रिने गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Kailash Rai

    May 6, 2020, 3:52 p.m.

    अनि हामी उपत्यकामा नै बस्नेलाई चाहिँ के गर्ने हाे ? हामी विद्यार्थी काम गर्दै पढाइ गरि बस्नेले अहिले काम छैन तलब पनि छैन राहत पनि पाइदैन के गर्न खाेजेकाे ?

  •  0 Reply

तपाईको प्रतिक्रिया