म्याग्दीमा बुधबार २ जना डेंगी सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या ७ पुग्यो

 बैशाख २४, २०७७ बुधबार २१:०:२९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा आज थप २ जनामा डेंगीको सङ्क्रमण पोजिटिभ पाइएको छ । उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्न थालेपछि ल्याब परीक्षण गर्दा उनीहरुमा डेंगी रोगको सङ्क्रमण पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । 

तनहुँ जिल्ला घर भइ हाल बेनी नगरपालिका–७, मंगलाघाट बस्ने २८ वर्षीय युवा र मंगला गाउँपालिका–१, कुहुँका २५ वर्षीय युवामा डेंगी पोजेटिभ देखिएको बेनी अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दुवै जनाको चिकित्सकको निगरानीमा उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

बुधबार थपिएका दुई जनासहित म्याग्दीमा डेंगी सङ्क्रमितको सङ्ख्या ७ पुगेको छ । गत आइतबार बेनपाको अर्थुङ्गे, पुलाचौर र घतानमा एकएक जनामा डेंगी पोजिटिभ भेटिएको थियो ।

यसअघि डेंगी पोजिटिभ देखिएका बेनपाको एकजना सङ्क्रमितलाई थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी समेत रहनुभएका मेडिकल रेकर्डर शर्माले बताउनुभयो । 

पछिल्लो तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ४, मंगला गाउँपालिकामा २ र मालिकामा १ जनामा डेंगी देखिएको बेनी अस्पतालले जनाएको छ । कोभिड–१९ का विरुद्ध लकडाउन जारी रहेको अवस्थामा जिल्लाको ग्रामीण क्षेत्रमा नै डेंगीका सङ्क्रमितहरु भेटिनुले समयमै सचेत बन्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

पछिल्लोपटक डेंगीका सङ्क्रमितहरु बढ्दै जान थालेपछि जिल्ला डेंगीरोगको उच्च जोखिममा परेको छ । 

यसैबीच म्याग्दीमा डेंगीको सङ्क्रमितहरु बढ्दै गएपछि स्थानीय तहले सचेतनामूलक कार्यक्रमहरु सुरु गरेका छन् । वडास्तरीय कार्ययोजना निर्माण गरी टोलटोलमा अभियान सञ्चालन गरिएकोे छ ।

डेंगीले प्रकोपको रूप लिन सक्ने जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी नगर भित्रका वडाहरुमा सचेतनामूलक कार्यक्रमसहित डेंगीरोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान थालिएको हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया