नीति तथा कार्यक्रममा रोजगारी : विदेशबाट फर्कनेलाई व्यवसाय गर्न पुँजी उपलब्ध गराउनेदेखि सामाजिक सुरक्षाको ग्यारेन्टीसम्म

 जेठ २, २०७७ शुक्रबार १९:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केकालाई सुरुवाती पुँजी उपलब्ध गराउँदै आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीका कारण श्रमिकको रोजगारी गुम्ने जोखिम रहेकाले स्वदेशमै रोजगारी सृजनाका लागि विदेशबाट फर्कनेको सीप र क्षमताको आधारमा व्यवसाय गर्न सरकारले नै सुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभएको हो । 

सरकारले विदेशबाट फर्कनलेलाई कृषिमा आर्कषित गर्ने योजना पनि ल्याउने बताएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको नीति छ । 

साथै अब सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको बताउनुभएको छ ।

आन्तरिक रोजगारी सृजना

सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानको रुपमा अघि बढाउने भएको छ । 

कार्यक्रमलाई अन्य रोजगार सम्बन्धी कार्यक्रमसँग आवद्ध गरी रोजगारी सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रुपमा कार्यान्वयन गर्ने सरकारको योजना छ । अघिल्लो वर्षदेखि सुरुभएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी दिने गरेको छ । 

 

अब यस कार्यक्रमार्फत सीपयुक्त र दक्ष जनशक्तिलाई पनि समावेश गर्ने सरकारको योजना छ । अहिले सबै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएको र रोजगार व्यवस्थापन सूचना प्रणाली पनि लागू भएको छ ।

यो प्रणालीलाई थप विकास गर्ने र श्रमिकको सीपको उपयोग गर्न श्रम बजारमा सजिलो हुने गरी श्रमिकको व्यक्तिगत विवरण सहितको श्रम सूचना बैंक स्थापना गरिने भएको छ ।

पालिकामा घुम्ती तालिम

सरकारले आउँदो वर्ष धेरै युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आवश्यकता अनुसार सबै पालिकाहरुमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोनाको कारण रोजगारी गुमाएको लागि रोजगारी सृजना गर्न सीप विकास तालिम लगायत आयआर्जनमुलक कार्यक्रम ल्याउने पनि राष्ट्रपति भण्डारीले बताउनुभएको छ । रोजगारी गुमाएका व्यक्तिहरुका लागि पालिकाहरुमार्फत राहतका कार्यक्रमहरु ल्याउने सरकारको नीति छ । 

यस्तै सरकारले अब नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने र भोकै कोही नमर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममार्फत गरेको छ । सरकारले गरिबीको मापन गर्ने र देशमा विद्यमान गरिबीको अन्त्य गर्ने रोजगारीका कार्यक्रम ल्याउने भएकाले अब नेपालमा कोही पनि गरिबीको कारणले भोकै नपर्ने र भोकै नमर्ने सरकारको दाबी छ ।

सबै नेपालीको जीवन गुणस्तरीय, मर्यादित र सुरक्षित बनाउनका लागि सरकारका विभिन्न निकायबाट सञ्चालित सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई एकीकृत रुपमा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया