बारा : मुद्दा फाँटका प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ प्रहरी क्वरेन्टीनमा

 जेठ ४, २०७७ आइतबार ९:६:५० | जयनारायण यादव
unn.prixa.net

बारा - कलैयामा रहेकाे जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वरेन्टीनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको बाल मन्दिरको प्रहरी क्वरेन्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीन जना गरी ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा संकलन गराइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो । सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ ।

सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेकाे घर गएर ३० गते जिल्ला प्रहरी कार्यालयमा फर्किएका थिए । प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक काम बाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

प्रहरी कार्यालयमा नआइ नहुने काम बाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखी पूर्ण रुपमा निषेध गरिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा शाखासहित जिल्ला प्रहरी कार्यालयमा औषधी छर्किइएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया