विश्वभर झण्डै ६ हजार ८ सय नेपालीमा कोरोना सङ्क्रमण, कतारमा मात्रै २५ सय नेपाली सङ्क्रमित

 जेठ ४, २०७७ आइतबार ९:४२:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – विश्वभर झण्डै ६ हजार ८ सय नेपालीमा कोरोना सङ्क्रमण भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न देशमा रहेका ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । 

सबैभन्दा धेरै कतारमा रहेका २५ सय नेपालीमा कोरोना सङ्क्रमण भएको छ । संसारका १९ देशमा रहेका नेपाली सङ्क्रमित रहेको समितिले संकलन गरेको तथ्यांकले देखाएको छ । 

समितिका अनुसार सबैभन्दा धेरै मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९ र एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ ।  सङ्क्रमितमध्ये ३५ प्रतिशतभन्दा धेरै निको भएको स्वास्थ्य समितिको तथ्याँक छ । 

 १९ देशमा रहेका नेपाली सङ्क्रमित

स्वास्थ्य समितिका अनुसार  नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य कतारमा २ हजार ५ सय, बहराइनमा ३ सय ११ जनामा, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ५४ र माल्दिभ्समा १० जनामा सङ्क्रमण देखिएको छ । 

यस्तै, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, पोर्चुगलमा २९, आयरल्याण्ड २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, बेल्जियम ६, स्वीजरल्याण्ड ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकंङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिको तथ्याँक छ ।

समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार सङ्क्रमितमध्ये ३५ प्रतिशत निको भएका छन् ।

संयोजक सापकोटाले कोरोना सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ । उहाँले कोरोना संक्रमणको शंका लागेमा तुरुन्त डाक्टर वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान गर्नु भएको छ ।

ज्यान गुमाउनेको संख्या ९६

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।
शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ  । समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । यस्तै संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा पनि १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।  

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया