एम्बुलेन्स कालीगण्डकीमा खस्दा चालक बेपत्ता

 जेठ ४, २०७७ आइतबार १८:४४:३६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिकाको लेतेबाट म्याग्दी सदरमुकाम बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकीमा खस्दा चालक बेपत्ता भएका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैंसरीकाे रिठाबोट नजिक आइतबार दिउँसो ग १ झ ३११ नम्बरको एम्बुलेन्स दुर्घटना भएर कालीगण्डकीमा खसेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा एम्बुलेन्सका चालक थासाङ गाउँपालिका ४ का २५ वर्षीय सोजन विकसहित एम्बुलेन्स पनि बेपत्ता भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो ।

दुर्घटनामा परेको एम्बुलेन्स सुत्केरी महिला लिनका लागि बेनी अस्पताल हिँडेको उहाँले बताउनुभयो । एम्बुलेन्समा चालकबाहेक अन्य कोही पनि नगएको प्राथमिक स्वास्थ्य केन्द्र लेतेले जानकारी दिएको प्रजिअ अर्यालको भनाइ छ ।

दुर्घटनामा बेपत्ता भएका चालक र एम्बुलेन्सको खोजी कार्य सुरु गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) किरणजंग कुँवरले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा खसेर बेपत्ता एम्बुलेन्सको केही अवशेष भेटिए पनि एम्बुलेन्स र चालकको अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

दुर्घटनास्थलमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डीएसपी कुँवरसहित सशस्त्र र नेपाल प्रहरीको टोली रहेको छ । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया