महामारीबारे भरपर्दो सूचना उपलब्ध गराउन डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयसँग भाइबरको सहकार्य : वरिष्ठ निर्देशक नय्यर

 जेठ ६, २०७७ मंगलबार ११:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ : कोरोना भाइरस महामारीको विकासक्रम, रोकथामका उपाय र अन्य अद्यावधिक सूचनाबारे यर्थाथपरक जानकारी दिन भाइबरले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विभिन्न देशका स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिरहेको छ । 

सिङ्गापुरमा रहेको राकुटेन भाइबर, एपीएसीका वरिष्ठ निर्देशक अनुभव नय्यरले महामारीको समयमा भरपर्दो सूचनामा पहुँच पुर्याउने उद्देश्यले भाइबरले डब्ल्यूएचओ र विभिन्न देशका स्वास्थ्य मन्त्रालयसँग साझेदारी गरिरहेको बताउनुभयो । 

‘हामीले विश्व स्वास्थ्य सङ्गठनसँग साझेदारी गरेका छौँ । भाइबरभित्र च्याटबट सुरु गरेका छौँ । यसले कोरोना सङ्क्रमणको लक्षण जाँच गर्न सक्दछ । सत्य जानकारी दिन सक्दछ । तपाईंलाई वरिपरिका धेरै सूचना दिन सक्दछ,’ वरिष्ठ निर्देशक नय्यरले भन्नुभयो । 

भाइबरले जारी गरेको विज्ञप्तिमा उहाँले अगाडि भन्नुभयो, ‘हामीले कम्युनिटी खोलेका छौँ जसमा मानिसहरु सम्मिलित हुन सक्छन् । मलाई लाग्छ, अहिले यसमा करिब ३ लाख सदस्य भइसकेको अवस्था छ । उनीहरुले सरकारबाट सोझै अद्यावधिक जानकारी पाउन सक्छन् । ताजा सूचना प्राप्त गर्न सक्दछन् । सरकारले गरिरहेका कदमबारे पनि थाहा पाउन सक्छन् ।’ 

विभिन्न सरकारी सङ्गठनहरुसँग सहकार्य गरेर प्रयोगकर्ताहरुलाई सही समयमा सही सूचना दिनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै नय्यरले भाइबरले नेपालको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिरहेको बताउनुभयो । 

‘मानिसहरु नेपालबारे मात्र पनि जान्न चाहन्छन् । नेपालको ताजा अवस्थाबारे जानकारी राख्न चाहन्छन् । त्यस्तै काठमाण्डौ र पोखरालगायतका निश्चित सहरबारे मात्र पनि जान्न चाहन्छन् । त्यसकारण नेपालमा के भइरहेको छ भन्ने जानकारी दिन स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेका छौँ, ’ नय्यरले भन्नुभयो । 
वरिष्ठ निर्देशक नय्यरले भाइबर कम्युनिटीको माध्यमबाट महामारीको समयमा प्रयोगकर्ताहरुले भरपर्दो र विश्वसनीय सूचनामा पहुँच प्राप्त गरेकाले नागरिकमा विश्वासको वातावरण सिर्जना भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया