लकडाउनको सदुपयोग : लमजुङमा गाउँ फर्केकाहरु अलैंची गोडमेल र रोप्नमा व्यस्त

 जेठ ८, २०७७ बिहिबार ११:३६:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - यतिबेला लमजुङका किसानहरु अलैंची गोडमेल र अलैंची रोप्नमा व्यस्त छन् । 

शहरबजारबाट गाउँ फर्केकाहरु समेत लक डाउनको सदुपयोग गर्दै आ-आफ्नो अलैंची बारीमा लगाइएका अलैंची गोडमेल गर्न र कतिपयले पाखो बाँझो जमिनमा अलैंची रोप्न जुटिरहेका छन् ।

जिल्लाको लुदि, तराचोक, ताघृङ, च्याम्चे, भुस्मे, पसगाउँ, घाम्राङ, गौंडा लगायतका ठाउँमा किसानहरु अलैंचीको स्याहारमा जुटिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन लमजुङका संयोजक अजय तामाङले बताउनुभयो ।

‘जिल्लाका विभिन्न ठाउँमा किसानहरु आफ्नो जमिनमा लगाइएको अलैंचीको स्याहारमा जुटेका छन्’, उहाँले थप्नुभयो, ‘विभिन्न सिलसिलामा शहरबजारमा बसेका तर अहिले गाउँ फर्केकाहरु समेत अलैंची गोडमेल र रोप्नमा व्यस्त छन् ।’

यसपाला मौसम पनि राम्रो हुनुको साथै अलैंचीले राम्रो गोडमेल पाएकाले जिल्लामा अलैंची उत्पादन बढ्न सक्ने उहाँले बताउनुभयो ।

गतवर्ष जिल्लामा २ सय मेट्रिकटन अलैंची उत्पादन भएको र अलैंची बिक्रीबाट १३ करोड रुपैयाँ आम्दानी भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका तामाङले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हाल १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची लगाइएको छ । झण्डै २५ हजार किसान अलैंची खेतीमा लागेका छन् । किसानले अलैंची खेतिबाटै राम्रो कमाइ गर्दै आएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया