अस्पताल–परिवार विवाद : ३० घण्टापछि शव उठ्याे

 जेठ ९, २०७७ शुक्रबार १६:४९:३६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषकाे शव ३० घण्टापछि उठाइएको छ ।

बिहीबार ज्यान गुमाएका गुल्मी मदाने गाउँपालिका ६ पुर्कोटका ४१ वर्षीय पुरुषको शव आज मात्र उठाइएको हो । आफन्तले अस्पतालको लापर्वाहीकाे कारण ज्यान गएको दाबी गर्दै शव बुझ्न नमानेपछि  र अस्पतालले शव उठाउने प्राविधिक नभएको बताएपछि ३० घण्टासम्म शव उठाउन सकिएको थिएन ।

नेपाली सेना र प्रहरीको टोलीले शव लगेर तिलोत्तमा नगरपालिकाको जङ्गलमा कोरोना मृत्यु निर्देशिका अनुसार अन्त्येष्टि गरेको नेपाली सेनाले जनाएको छ ।अस्पतालले हस्ताक्षर गर्न भने पनि परिवारका तर्फबाट कसैले हस्ताक्षर नगरेको र शव उठाएर लगिएको मृतकका भाइले बताउनुभयो । 

अस्पतालले मृत्युको प्रमाणपत्र परिवारलाई दिइएको जनाएको छ । यसैबीच उपचारमा लापर्वाही भएकाेले श्रीमानको ज्यान गएको भन्दै मृतककी श्रीमतीले उजुरी दिनुभएकाे छ ।  

आफ्ना श्रीमानको मृत्यु कोरोनाको कारणबाट नभइ क्रिमसन अस्पतालको लापर्वाहीबाट भएको भन्दै अस्पताललाई कारबाही गर्न माग गर्दैे उहाँले जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी पठाउनुभएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया