कोरोनाभन्दा मानसिक समस्या डरलाग्दो, युवा र अधबैँसे महिला उच्च जोखिममा

 जेठ १८, २०७७ आइतबार १३:२८:२० | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - मानिसलाई सधैँ पिरोलिरहने डर, असुरक्षा र अशान्तिले हो । जब असुरक्षा बढ्दै जान्छ, मन अस्थिर हुन्छ । मन अस्थिर भए सही र गलत छुट्याउन सकिँदैन । हरेक दिन भागदौडमा हिँडिरहेका धेरैजसो मानिस कोरोनाको जोखिम बढेपछि अहिले घरभित्रै छन् । यसले मनगढन्ते चिन्ता र असुरक्षा बढ्दै गएको छ ।

जागिर जाने डर

लकडाउनको कारण घरमा बसेकाहरु रोजगारी गुम्ला भन्ने डरमा छन् । जागिर गुमे कसरी बाँच्ने, कसरी समाजमा मुख देखाउने भन्ने चिन्ताले उनीहरु असुरक्षित छन् । अर्कोतिर दिनहुँको चिन्ताले लकडाउनपछि जागिर छुटेकाहरुमा मानसिक समस्याको जोखिम बढेको छ । 

उसो त यतिबेला जागिरेहरु मात्रै होइनन्, कोरोना भाइरसको महामारी र लकडाउनबाट दिग्दार भएकाहरुमा पनि मानसिक समस्या बढ्दै गएको मनोविश्लेषक बासु आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको प्रतिकूल अवस्थामा ‘एड्जस्ट’ गर्न नसक्नेहरुमा सबैभन्दा धेरै मानसिक समस्या देखिएको छ ।’

महिला बढी जोखिममा

विशेषगरी अधबैँसे महिला र युवा अहिले मानसिक समस्याको चपेटामा छन् । महिनावारी बन्द भएपछि शरीरमा हर्मोन परिवर्तन हुने र योसँगै घरभित्रको कामको बोझले अधबैँसे महिला थप जोखिममा परेको मनोविद् करुणा कुँवर बताउनुहुन्छ । 

घरभरि मानिस भएपनि काममा सहयोग नगर्ने र कुरा सुनिदिने कोही नहुँदा पुरुषको तुलनामा महिलामा मानसिक समस्याको जोखिम धेरै छ । यस्तै, घरपरिवारभन्दा टाढा रहने धेरै युवामा अहिले मानसिक समस्या बढेको छ । घरबाहिर निस्कन नपाउनु, साथीसङ्गीसँग चियागफ र भेटघाट हुन नपाउनु र ‘करियर’को चिन्ताले उनीहरुमा मानसिक समस्या बढेको मनोविश्लेषक आचार्य बताउनुहुन्छ ।

जो केहीलाई हुन सक्छ

मानसिक समस्या बालबालिका, किशोरकिशोरी, युवा, महिला र ज्येष्ठ नागरिकमध्ये जो कसैलाई हुन सक्ने मनोचिकित्सिकहरु बताउँछन् । तर, भावनामा बग्ने र कोमल मन भएकाहरु बढी जोखिममा हुन्छन् । 

दुई महिनाभन्दा लामो लकडाउनले धेरैको जागिर छुटेको छ । कलकारखाना बन्द छन् । विद्यालय, कलेज र जिमखानालगायत सबै बन्द छन् । यसले आर्थिक सङ्कटसँगै सामाजिक सङ्कट पनि निम्त्याएको छ । यिनै कारणले अहिले युवा मानसिक समस्याको बढी जोखिममा छन् ।

घरपरिवारसँगै रहेकालाई केही हदसम्म सजिलो भएपनि परिवारबाट टाढा रहेकाहरु बढी समस्यामा परेका छन् । जागिर, रोजीरोटी र साथीको चिन्ताले मानिस हरेक दिन एक्लो बन्दै जाने र उसको मनमा अशान्ति बढ्ने मनोविश्लेषक आचार्यको भनाइ छ ।

दुःख र निराशा बढ्दै  

मानसिक समस्या विभिन्न प्रकारका हुन्छन् । रुने, कराउने, दुःखी हुने, चिन्ता र बेचैनी हुने, डर बढ्ने र असुरक्षित महसुस गर्नेजस्ता कारण नै मानसिक समस्याका कारक हुन् । आफ्नो पीडा सहन नसक्नु र त्यसको निकास नै छैन भन्दै केहीले यस्तो वेला आत्महत्या समेत गर्न सक्ने विज्ञहरु बताउँछन् ।

कोरोनाको जोखिम झन् झन् बढेकोले नयाँ सम्भावना के र जीवनलाई कसरी चलायमान बनाउने भन्ने प्रश्नहरु यतिखेर गरिखानेका लागि जटिल बनेका छन् । यस्ता प्रश्नहरु समस्यामा परिणत हुँदैछन्, जसले गर्दा खुसी बिस्तारै दुःख र निराशामा परिणत हुँदैछन् । 

घरभित्र बस्दा बस्दा मानिसमा दिग्दारी बढेको छ । अब के गर्ने ? भन्ने प्रश्नले हतोत्साह, घबराहट र छटपटी पनि बढाएको छ । जे भएपनि आखिर जीवन यसैगरी सकिने त रहेछ भन्ने सोच धेरैमा हाबी हुन थालेको मनोविद् कुँवरले बताउनुभयो ।  

दैनिकी नियमित बनाउनुपर्छ 

बिहान उठ्ने, खाने, पढ्ने र सुत्ने समयलाई निश्चित र नियमित गर्नुपर्छ । यसो गर्दा दैनिकीमा सन्तुलन मिल्न जान्छ र रोगसँग लड्ने शरीरको क्षमता पनि बढ्छ । डाक्टर सगुनबल्लभ पन्त भन्नुहुन्छ, ‘दैनिक कम्तीमा ६ देखि ८ घण्टा सुत्नुपर्छ ।  यसले मनसँगै दिमागलाई पनि शान्त बनाउँछ र आराम दिन्छ ।’

योसँगै खेल्ने, नियमित व्यायाम गर्ने र घरभित्रै आफ्नो संसार सोच्ने हो भने मानसिक समस्या कम हुन सक्छ । यस्तै बजारको जङ्कफुड र पेय पदार्थभन्दा घरभित्रै बनाइएको पौष्टिक आहार खानुपर्छ । मन हलौँ बनाउन अनावश्यक र भ्रामक समाचारको पछि लाग्नुहुँदैन । 

समस्याको अन्तिम अस्त्र

मनोविद्का अनुसार कोरोनाको जोखिमले अहिले भयरहित कोही पनि छैन । तर कोरोना भाइरसको सङ्क्रमणभन्दा पनि मानसिक समस्या जटिल बन्दै गएको छ । मनोविश्लेषक आचार्यका अनुसार लकडाउनमा सबै घरभित्रै भएकाले आफूलाई परेको पिर, मर्का र समस्याबारे परिवारका सदस्यबीच खुलेर छलफल गरे समस्याको निकास निस्कन्छ । 

अभिभावकले आफ्ना समस्या बुझेका छैनन् भने पटक पटक सम्झाउने प्रयास गर्नुपर्छ । परिवारका कुनै सदस्य आफूसँग छैन भने आफू को हुँ र के गर्दैछु भन्ने विषयमा आफ्नै मनसँग विमर्श र छलफल गर्नुपर्छ । 

‘आफ्नो सोचले आफूलाई कुन बाटोमा डोर्याइराखेको छ भन्ने कुराको पहिचान नै मानसिक समस्याको उपचार हो,’ मनोविश्लेषक आचार्यले भन्नुभयो । सबैभन्दा महत्त्वको विषय कोरोना सङ्क्रमणलाई स्वीकार गर्नु र यसविरुद्ध सचेतना अपनाउनु नै हो । ‘संसारले स्वीकार गरेको कुराले मलाई मात्र पीडा दिएको छैन । कोरोनाको जोखिम विश्वलाई नै परेको छ भनेर चिन्तन गर्न सकियो भने  मानसिक समस्या हुन पाउँदैन ।’ आचार्यले भन्नुभयो ।

सबैथोक नभए पनि जीवन सम्भव छ भनेर बुझे अहिलेको विषम परिस्थितिमा टिक्न सकिन्छ । आफूलाई आफैँले सम्हाल्न सकिन्छ । जीवन केही नभएपनि आनन्दित छ भनेर आफैँसँग रमाउन सिके सम्भावित जोखिम टर्छ । 

मनोविद्का अनुसार मानसिक समस्या हुन नदिन आफ्नो सोच र व्यवहारबीच तालमेल मिलाउनुपर्छ । घरभित्रै काम नगरी बस्दा आफूलाई समस्या पर्ने कुरालाई बुझ्नुपर्छ । यति बुझेपछि बिस्तारै आफूलाई समयसापेक्ष ढाल्दै लैजानुपर्छ । 

मनोविश्लेषक आचार्य भन्नुहुन्छ, ‘आफ्नो सोचलाई नकारात्मक र गलत सूचनामा हाबी हुन नदिने हो भने मानसिक समस्या झेल्नै पर्दैन । आफूलाई गार्हो हुनासाथ समस्याको समाधान खोज्नुपर्छ । समाधान खोजेपछि उपचार हुन्छ र उपचारपछि रोग निको हुन्छ ।’ 

अन्तिम अपडेट: असार ९, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया