विदेशबाट आउनेले कोरोना ल्याउँछन् भन्ने मानसिकता हटाऔँ

 जेठ २१, २०७७ बुधबार १४:९:२२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

महेश्वर नेपाल/काभ्रे ।

गएको चैत ६ गते म आफ्नो साढे पाँचवर्षे कतार बसाई बिट मारेर नेपाल फर्किएँ । सोच त मेरो वैदेशिक रोजगारी छाडेर नेपालमै केही गर्ने थियो । केही योजना पनि साथमा थिए । तर संयोग नै यस्तो पर्‍यो कि म गाउँ पुग्दा विदेशबाट भागेर आए भन्ने खालका कुराहरु पनि सुन्नु पर्‍यो ।

म आउँदा विश्व नै कोरोनाको महामारीसँग लड्दै थियो । त्योबेला कहाँ के भइरहेको छ भन्ने कुरा त सबैलाई जानकारी नै थियो । त्यति भैसकेपछि गाउँ समाजमा पनि मानिसहरु आत्तिनु स्वभाविक नै हो । किनकी त्यतिखेरको समय नै त्यस्तै थियो । गाउँघरका मानिसले सुनेको पनि त्यही थियो, विदेशबाट फर्कनेले कोरोना ल्याउँछन् ।

नेपाल सरकारले विदेशबाट आएकाहरुलाई क्वरेण्टीनमा राख्ने भनेर घोषणा गरेपछि कोरोना लाग्छ भन्ने किसिमको बुझाइ भएको रहेछ । मेरो अनुभवमा त्यस्तै पाएँ मैले । तर वास्तवमा त्यस्तो नहुनुपर्ने थियो । 

हामी आफैं सचेत हुनुपर्ने थियो । किनभने मेरो पनि घरपरिवार आफन्त हुनुहुन्छ । आफ्नो घरपरिवार, समाज कसरी जोगाउने, कसरी सुरक्षित राख्ने भनेर हामी पनि सोच्थ्यौं । उहाँहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पनि थाहा थियो । तर त्यति भएर मात्र यो परिस्थितिमा नहुने रहेछ ।

अघिपछि विदेशबाट आउँदा सोधपुछ गर्ने, सञ्चो विसञ्चो सोध्ने, चकलेट खोइ त भाइ भनेर सोध्नेहरु यसपालि मलाई देख्दा नै तर्सन अवस्था भयो । देखेर पनि नदेखे जस्तो गरी, बोल्दैमा सर्छ कि जस्तो गरी अलि पर पर सर्ने किसिमको व्यवहार भयो । यस्तो व्यवहार त्यो पनि जान्ने सुन्ने मानिसबाटै हुँदा मन अर्कै हुँदो रहेछ । 

यतिखेरको परिस्थिति नै यस्तै छ, गाउँसमाज परिवार जोगाउने जिम्मा हाम्रो पनि हो भनेर मन बुझाउनुपर्ने रहेछ । मैले त्यही सोचेर मन बुझाएँ । छरछिमेकबाट भन्दा पनि अलिकति जानेबुझेको मान्छेबाटै सामाजिक सञ्जालमा भागेर आयो भन्ने प्रकारका कुराहरु गरेको देखियो ।

बुझेकै मान्छेले त्यसरी प्रचारप्रसार गरेको देखियो । त्यसपछि वडाध्यक्षले मलाई फोन गरेर मेरो अवस्थाको बारेमा सोध्नुभयो । त्यतिबेला त्यो गाउँमा हामी दुईजना विदेशबाट आएका थियौं । वडाध्यक्षले हामीलाई केही अप्ठ्यारो परे धुलिखेल अस्पतालमा लगेर जाँच गर्ने व्यवस्था मिलाइदिन्छु भन्नुभयो । उहाँले हामीलाई धेरै हौसला पनि दिनुभयो । मलाई त्यतिखेरसम्म केही पनि लक्षण देखिएको थिएन । तातोपानी पिउने, घरमै पनि दूरी कायम गरेर बस्ने गरिरहेको थिएँ ।

जबकी मलाई नै थाहा छैन मलाई के भएको छ भन्ने, सामाजिक सञ्जालमा गलत प्रचार गरिदिए । त्यसले पूरै जिल्लामा एकप्रकारको तरङ्ग नै ल्यायो ।  ओल्लोपल्लो गाउँमा पनि विदेशबाट आएका भनेर हल्ला गर्न थाले । गाउँमा यस्तो भइसकेपछि परिवारमा पनि असर त पर्छ नै, तर मेरो परिवार अलि बुझ्ने खालको थियो र त्यति समस्या भएन । मैले पनि यतिखेरको समय यस्तै हो, केही गर्न सकिँदैन, मान्छेको बुझाइ फरक फरक हुन्छ भन्ने सोचेँ । 

त्यसपछि धुलिखेल अस्पतालमा पीसीआर परीक्षण हुन थालेपछि त्यहाँ गएर परीक्षण गराएँ । पहिलो दिन जाँदा अस्पतालमा डाक्टरले ममा केही लक्षण देखिएको छ कि भनेर सोध्नुभयो । मलाई त्यस्तो केही पनि भएको थिएन ।

ज्वरो नाप्नुभयो अनि तपाईंलाई केही पनि भएको छैन, आत्तिनुपर्दैन भनेर केही भयो भने भनेर भिटामिन लगायतका केही औषधि लेखेर दिनुभयो । अनि जनस्वास्थ्य कार्यालय काभ्रेबाट त्यहाँको प्रमुखले पनि फोन गर्नुभएको थियो । केही भयो भने हामी तपाईंलाई सहयोग गर्न तयार छौं, तपाईंलाई अप्ठ्यारो हुनेबित्तिकै सम्पर्क गर्नुहोला भन्नुभयो । 

एक हप्तापछि मेरो मनले नै मानेन । १६÷१७ दिन भएको थियो म क्वरेण्टीनमा बसेको । कतै मलाई नदेखिएको पो हो कि भनेर फेरि म परीक्षणको लागि धुलिखेल अस्पतालमा पुगेँ । पीसीआर परीक्षण गरेँ र भोलिपल्ट फोन गरेर बुझ्दा नेगेटिभ छ भनेर भन्नुभयो । त्यसपछि मानिसहरु अलिकति नजिकिन र बोल्न थाले ।

अहिले नेपालमा क्वरेण्टीनबाट मानिसहरु भागिरहेका छन् भनेर धेरै समाचार आइरहेका छन् । त्यो हुनुको कारण भनेको क्वरेण्टीनमा उनीहरुलाई गर्ने व्यवहारका कारण हो । जस्तो उनीहरुलाई तातोपानी, भिटामिन सी पाइने खानेकुरा खानु भनेको छ । यस्तै खानाको समय मिलाएर उचित वातावरणमा राख्न सकियो भने यस्तो अवस्था आउने थिएन ।

विदेशबाट आउनेबित्तिकै कोरोना लिएर आयो भन्ने मानसिकता छ । त्यो मानसिकताबाट अलिकति टाढा हन सक्यो भने सजिलो हुने थियो । सरकारले पनि अहिले विदेशबाट आउनेहरुको लागि सामूहिक क्वरेण्टीन र होटेलमा बस्ने गरी दुई प्रकारको मापदण्ड बनाएको छ । 

आफूसँग पैसा छ भने होटेलमै बस्नुहोस् । तर तपाईं समस्यामा पर्नुभएको छ भने सामुहिक क्वरेण्टीनमा बस्दा पनि होसियारी तथा सुरक्षाका सबै उपाय अपनाउनुहोस् । यो समय पनि यस्तै हो भनेर बुझ्नुपर्ने हुन्छ ।

अहिलेको अवस्था नै मान्छेबाट मान्छेले डराउनुपर्ने अवस्था छ । क्वरेण्टीनमा त्यस्तो व्यवहार भयो भने पनि यो समय नै यस्तै छ भनेर बुझ्न सकियो र क्वरेण्टीनमा बस्दा दैनिक आवश्यक सामग्रीहरु राज्यले उपलब्ध गराउन सक्यो भने उनीहरु पनि स्वस्थ मनस्थितिका साथ बस्न सक्थे । उनीहरुमा कुनै पनि प्रकारको मानसिक समस्या हुँदैनथियो ।

राज्यमा बर्सेनि अर्बौं रेमिट्यान्स भित्र्याउने नेपाली युवालाई अहिले राज्यले हेला गर्नु हुँदैन । उनीहरुलाई उचित संरक्षण गरिनुपर्छ । उनीहरुलाई राहतमा केही समस्या पर्यो भने भोलि विदेशमा गएका नेपालीहरुले नै सहयोग पठाउन सक्छन् राज्यको लागि । त्यही भएर उनीहरुलाई कुनै पनि प्रकारको विभेद गरिनु हुँुदैन । 
विदेशबाट फर्केकाहरुले कोरोना लिएर आयोभन्दा आत्मबल घट्छ ।

त्यस्तो प्रकारको व्यवहार भएन र सबैले साथ, सहयोग र हौसला दिए भने कोरोना सङ्क्रमण रहेछ भने पनि धेरैले जित्न सक्नेछन् भन्ने मलाई लाग्छ । अहिले कतिपयले आत्महत्या गरेको पनि सुनिन्छ, त्यो उनीहरुलाई हामीले गरेको व्यवहारले पोेलेर पो हो कि जस्तो लाग्छ । क्वरेण्टीनमा बसेकाहरुलाई राम्रो व्यवहार गर्न सकियो भने पक्कै पनि उनीहरुको आत्मबल दह्रो हुन्छ । विदेशबाट फर्कनेले जानेर कोरोना ल्याउँदैनन् । यो कुरा सबैले बुझ्न जरुरी छ ।   

(नेपालले कार्यक्रम देश परदेशका लागि साट्नुभएको आफ्नो अनुभवमा आधारित ।)

अन्तिम अपडेट: असार १२, २०७७

तपाईको प्रतिक्रिया