स्वास्थ्यकर्मीको कोरोना-कथा : व्यक्तिगत सुरक्षा सामग्रीबिना खटिँदा सङ्क्रमित भएँ

 जेठ २१, २०७७ बुधबार १७:२०:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - झण्डै साढे ९ वर्षदेखि म कञ्चनपुरको परासन स्वास्थ्य चौकीमा काम गर्दै आएको छु । भारतमा कोरोना सङ्क्रमण देखिएपछि त्यहाँबाट पुर्नवास नगरपालिकाका नागरिकहरु आउन थाले । हामीलाई त्यहाँ स्वास्थ्य जाँचको लागि पठाइयो ।

कैलालीको त्रिनगर नाकाबाट जेठ ८ गते आठ सयभन्दा बढी नेपालीको उद्धार गरिएको थियो । त्यही दिन प्रदेश सरकारले आरडिटी किटको व्यवस्थापन गरेपछि कञ्चनपुरको पुर्नवास नगरपालिकाको तर्फबाट र्यापिड टेस्ट गर्न हामी खटियौँ । सीमामा भिड धेरै भएकाले आफूलाई पूर्ण रुपमा सुरक्षित राख्न मुस्किल भएको थियो । 

म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ । त्यतिबेला मैले पीपीईसहित अन्य व्यक्तिगत सुरक्षा सामग्री लगाएको थिइनँ । खालि मास्कको भरमा उनीहरुलाई लाइन लगाएर चेक गरिरहेका थियौँ । सायद त्यही मेरो गल्ती थियो । त्यो दिन आएका ६ जनामा कोरोना पोजेटिभ देखियो । उनीहरुबाटै मलाई सरेको हो जस्तो लाग्छ ।

त्यस दिन पोजेटिभ देखिएका दुई जनाले सीमामा सशस्त्र प्रहरीसँग विवाद गरेका थिए । मैले नै उनीहरुलाई सम्झाइ बुझाइ गरेर माहोल शान्त पारेको थिएँ । सीमा क्षेत्रमा र्यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वरेण्टीनमा गएर र्यापिड टेस्ट र शङ्कास्पद बिरामीको स्वाब सङ्कलनको काम गरिरहेको थिएँ । जेठ १७ गते आफ्नो पनि स्वाब सङ्कलन गरेर पठाएँ । 

मङ्गलवार दिउँसो धनगढीमा रहेको मेडिकल ल्याब एसोसिएसन अफ नेपालको कार्यालयमा छलफल थियो । त्यस संस्थाको कञ्चनपुर जिल्ला सदस्य भएकोले छलफलको लागि म धनगढी आएको थिएँ । प्रयोगशालामा चेकजाँच गरिरहेकाहरुसँग चिनजान र मित्रता थियो । आफू पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा विश्वास लागेन । तर केही डर लाग्यो । मन खिन्न भयो । अब जे भएपनि भइहाल्यो भन्दै त्यसपछि आफैँले मोटरसाइकल चलाएर सेती अस्पतालतर्फ हानिएँ ।

मैले स्वाब सङ्कलन गरेकामध्ये चार जनामा कोरोना पुष्टि भएको खबर सुनेँ । स्वाब सङ्कलनकै क्रममा कोरोना सरेको होला जस्तो मलाई लाग्दैन । किनकि त्यतिखेर मैले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेको थिएँ । सतर्कता पनि अपनाएको थिएँ । तर सीमामा सयौँको भिड भएकाले त्यही नै केही गडबडी भएको जस्तो लाग्छ । 

दिनभरि काम गरेर साँझ सधैँ म घर जान्थेँ । घरमा दुई छोरी र श्रीमती छन् । सेती अस्पतालमा स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड छ । यहीँ बसेको छु । तर ममा कोरोना पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । परिवारको चिन्ता लागिरहेको छ । छिट्टै कोरोनालाई जित्छु ।

(कञ्चनपुर जिल्लामा कार्यरत सङ्क्रमित स्वास्थ्यकर्मीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया