अब इलाममा शनिबारबाहेक नियमित पसल खुल्ने

 जेठ २१, २०७७ बुधबार २१:९:१० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा अब नियमित रुपमा बजार सञ्चालन भएको छ । लकडाउनले उद्योग व्यवसायीलाई मात्र नभएर सर्वसाधारणलाई समेत असर पर्न गएकाले बिहीबारबाट इलाममा बजारका अधिकांश पसलहरु खोल्ने निर्णय गरिएको हो । 

बुधबार इलाम उद्योग वाणिज्य सङ्घ इलामले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सरकारको मापदण्ड अनुसार नै सुरक्षित रहँदै बजारका पसलहरु खोलिने बताइएको छ   । 

हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म जोखिमपूर्ण पसलबाहेकका सबै पसल सञ्चालन गर्न पाइनेछ । सम्पूर्ण बैंक, वित्तीय संस्थाहरु भने बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरलाल चिपालुले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘होटल, ब्युटि पार्लर, सैलुन, डान्स सेन्टर, मिठाइ पसल, चिया पसल, व्यायम स्थल, सार्वजनिक सवारी साधन र मनोरञ्जनका स्थलहरु चाँहि पूर्णरुपमा बन्द नै रहनेछन् । यसबाहेकका पसललाई भने सञ्चालन अनुमति दिइएको हो ।'

 बजार खोलिने सीमित समय मात्र हुँदा बजारमा भिडभाड बढ्ने र जोखिम पनि हुने भएकाले नियमित रुपमा बजार सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ  । पसल खोल्दा हरेक पसल अगाडि साबुन पानीको व्यवस्था गर्नुपर्ने, पसलका हरेकले माक्स, पञ्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

पसलमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था अनिवार्य गरिएको छ । धेरै भिडभाड हुने ठाउँमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सुरक्षा घेरासमेत व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नै निर्माण गरेर मात्र व्यवसाय गर्न पाइने सङ्घले जनाएको छ । 

कोरोना भाइरस (कोभिड-१९) काे कारण लकडाउनले व्यवसाय नै धरापमा पर्दै गएकाले नियमित रुपमा बजार सञ्चालन भए पनि शनिबार भने पूर्णरुपमा बजार बन्द नै रहने अध्यक्ष चिपालुले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया