देशकै पहिलो अनलाइन प्रदर्शनीमा लकडाउन र महामारीसँग जोडिएका १९ चित्र

 जेठ २२, २०७७ बिहिबार १६:१४:३ | अमरेन्द्र यादव
unn.prixa.net

फोटो साभार : म्युजियम अफ नेपाली आर्ट

काठमाण्डौ - पाँच महिनाअघि जब चीनको वुहान प्रान्तबाट कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएको थियो कसैले पनि सोचेको थिएन होला कि यसले विश्व महामामारीको रुप लिने छ । कसैले पनि कल्पना गरेको थिएन कि यसले यस्तो विनाशकारी आर्थिक, सामाजिक, मानसिक र मावनीय क्षति पुर्याउने छ । बिस्तारै नेपाल पनि कोरोना महामारीले नराम्ररी प्रभावित भएको छ । सत्तरीभन्दा धेरै दिनदेखि देश पुरै लकडाउनमा छ । चौबिस सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । नौ जनाको ज्यान गइसकेको छ । 

देशमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि सम्पूर्ण रुपमा ठप्प छ । ललितकला क्षेत्रका गतिविधिहरु पनि पूर्ण रुपमा प्रभावित भएका छन् । आम नागरिकजस्तै चित्रकारहरु पनि घरमै थुनिएर बस्न बाध्य छन् । चित्रकारहरुका कलामय देश–विदेश यात्रा, भौतिक चित्रकला प्रदर्शनी, सेमिनार र चित्रकलाको बिक्री तथा व्यवसाय पनि पुरै ठप्प छ । यसले उनीहरु निराशा, तनाब र पीडामा छटपटिएका छन् । 

यस्तो अवस्थामा ठमेलमा रहेको काठमाण्डौ गेस्ट हाउसका मुख्य कार्यकारी अधिकृत राजन शाक्यको दिमागमा एउटा नयाँ अवधारण फुर्यो – घरका चार पर्खालभित्र सीमित चित्रकारहरुमध्ये केहीलाई कलाकृति कोर्न लगाउने र त्यसको अनलाइन चित्रकला प्रदर्शनी गर्ने ।  

होटल व्यवसायी शाक्य विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय स्तरका कला सङ्ग्रहालयहरु अवलोकन गर्नुभएको छ । उहाँ चित्र सङ्कलक पनि हुनुहुन्छ । नेपाली मौलिक कलालाई प्रवर्धन गर्ने र त्यसलाई विश्व स्तरमा चिनाउने हुटहुटी उहाँमा धेरै पहिलेदेखि थियो । फलतः केही वर्षअघिदेखि शाक्यले नेपाली आधुनिक र परम्परागत कलाको सङ्ग्रहालय स्थापना गर्ने सोचिराख्नुभएको थियो । महामारी सुरु हुनुअघि नै गेस्ट हाउसभित्र म्युजियम अफ नेपाली आर्टको सङ्ग्रहालय निर्माण गर्ने कार्य सुरु पनि भइसकेको थियो । तर महामारी र लम्बिँदो लकडाउनको कारण निर्माण पूरा हुन सकेन । 

यस्तैमा उहाँले निराशा र तनाबमा बाँचिरहेका कलाकारहरुमा आशा र उर्जा सञ्चार गर्ने योजना बनाउनुभयो । कोरोना भाइरसको नाम कोभिड-१९ भएकोले उहाँले १९ जना चित्रकारबाट एक÷एक वटा चित्र कोर्न लगाउने सोच्नुभयो । म्युजियमको अवधारणा र भौतिक निर्माणमा क्युरेटर स्वस्ति राजभण्डारी कायस्थ र प्रणवमान सिंह पहिलेदेखि शाक्यको साथमा हुनुहुन्छ । उनाइस जना कलाकार छनोट गर्न कायस्थ र सिंहले सहयोग गर्नुभयो । आर्ट क्युरेटर कायस्थले एकदमै समावेशी हिसाबले अनलाइन प्रदर्शनीको लागि चित्रकार छनोट गरिएको बताउनुभयो । ‘वरिष्ठदेखि कनिष्ठ, आधुनिकदेखि परम्परागत र नयाँदेखि पुराना कलाकारसम्म छनोट गरिएको छ,’ कायस्थले बताउनुभयो । 

चित्रकारहरुलाई आर्ट पेपर वा क्यानभासमा लकडाउनको बेलाका आफ्ना भोगाइ, भावना, कल्पना, तनाब र छटपटीलगायत सकारात्मक भावहरु पोख्न करिब पाँच हप्ताको समय दिइएको थियो । चित्रहरुको डिजिटल प्रति सङ्कलन गरेपछि शाक्यले अनलाइन प्रदर्शनीको लागि वेभसाइट डिजाइन गर्न लगाउनुभयो । आफ्ना चित्रबारे चित्रकारका विचार र सङ्क्षिप्त परिचय पनि वेभसाइटमा प्रदर्शित चित्रसँगै राखिएको छ । यस ‘भर्चुवल’ प्रदर्शनीको अर्को विशेषता के हो भने आफ्नो घरमै बसेर प्रदर्शनी नियाल्दा ३६० डिग्रीमा काठमाण्डौ गेष्ट हाउसको बगैँचासहित भव्य भवन र कोठाहरु समेत अवलोकन भ्रमण गर्न सकिन्छ ।   

गएको जेठ १ गतेदेखि 'टान्जेन्सल स्ट्रेस' नामक अनलाइन प्रदर्शनी सुरु भएको छ । शाक्यले यो अनलाइन चित्रकला प्रदर्शनी नेपालकै पहिलो र ३६० डिग्रीमा ‘भर्चुवल टुर’ सम्भवतः दक्षिण पूर्वी एसियामै पहिलो भएको बताउनुभयो । प्रदर्शनीमा सहभागी वरिष्ठदेखि कनिष्ठ कलाकारसम्महरुका चित्र समान मूल्यमा खरिद गरिने उहाँले बताउनुभयो । ‘प्रदर्शनीको लागि चित्र लिएर फिर्ता गर्दिनँ । लकडाउनमा कलाकारहरुलाई केही राहत होस् भनेर प्रदर्शनीका लागि कोरिएका चित्र किन्दैछु,’ शाक्यले भन्नुभयो ।

लकडाउन सकिएपछि चित्रकारहरुको घरबाट चित्र सङ्कलन गरेर भौतिक रुपमै प्रदर्शनी गर्ने योजना शाक्यको छ । ‘लकडाउनपछि म्युजियम अफ नेपाली आर्टको ग्यालेरीमा अहिले अनलाइन प्रदर्शनीमा रहेका चित्रहरुको भौतिक रुपमै प्रदर्शनी गर्नेछौँ, ’ शाक्यले भन्नुभयो ।

'टान्जेन्सल स्ट्रेस' नामक अनलाइन प्रदर्शनीमा राखिएका चित्रहरु 

१) आशा डंगोलको ‘न्यू अवतार’

२) वत्सगोपाल वैद्यको ‘लकडाउन’

३) भाइराज महर्जनको ‘पावरलेसनेस’

४) विधाता केसीको ‘एक्काइस दिन’

५) विनोद प्रधानको ‘सेम प्लानेट डिफेरेन्ट इफेक्टस्’

६) एरिना ताम्राकारको ‘द भेरिएबल जेम’

७) गोपाल ‘कलाप्रेमी’ श्रेष्ठको ‘एउटा रङहीन रङमञ्चको भाग’

८) गोविन्दलाल सिंह डंगोलको ‘दैव्य शक्ति’

९) किरण मानन्धरको ‘द इटरनल डिबेट’

१०) कोशल हमालको ‘आर्ट इन लकडाउन’

११) मनिषलाल श्रेष्ठको‘ साउण्ड अफ साइलेन्स’

१२) प्रदीपकुमार बज्राचार्यको ‘सो स्माउल येट सो बिग’

१३) प्रमिला बज्राचार्यको ‘योर लाइफ बिफोर माइन’

१४) पृथ्वी श्रेष्ठको ‘अ गेम’

१५) रजनी सिंखवालको ‘महाकला : डेस्ट्रक्सन विथ काउज’

१६) रन्जु यादवको ‘प्रिग्नान्सी ड्युरिङ्ग प्यान्डेमिक’

१७) सागर माननन्धरको ‘क्रिएटिभिटी नेभर डाइज’

१८) एससी सुमनको ‘होप एमिड्थ डिस्पेयर’

१९) सुनिता रानाको ‘आशा (होप)’ 


               
 
 

अन्तिम अपडेट: चैत २, २०८०

अमरेन्द्र यादव

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया