विदेशबाट फर्किएकालाई क्वरेण्टीन लैजाने क्रममा कालीकोटमा टिप्पर दुर्घटना : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

 जेठ २८, २०७७ बुधबार १५:५४:४४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुलेको छ ।

दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना हराइरहेका छन् । दुर्घटनामा परी रास्कोट नगरपालिका वडा नम्बर २ का ठुम्की सार्की र शर्मिला सार्कीको ज्यान गएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिनुभयो । 

दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको प्रहरी, सेना र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन्  ।

दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की र निस्पता सार्की रहेका छन्। उनीहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ । बाइस जनाको सकुशल उद्धार गरिएको छ ।

भारतबाट घर फर्किएका ३९ जनालाई क्वरेण्टीनमा पुर्याउन लालीघाट बजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको जा ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको हो  । 

दुर्घटनामा आठ जना घाइते भएका र २६ जना सकुशल रहेका सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया