हिजो ज्यान गुमाएका निजगढका बालकमा कोरोना भेटियो

 जेठ ३१, २०७७ शनिबार १३:३२:३४ | जयनारायण यादव
unn.prixa.net

बारा - शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको बाराको निजगढ नगरपालिका ६ योजना टोलका पाँच वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती बालकमा कोरोना पोजेटिभ पाइएको हो । गम्भीर बिरामी भएर निजगढका विभिन्न क्लिनिकमा उपचार गराउँदै आएका बालकलाई हिजो शुक्रबार बिहान ११ बजे वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएकोमा अस्पतालले इमर्जेन्सी कक्षबाट भेन्टिलेटरमा लैजान आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो ।

निमोनिया भएको ती बालकको स्वाब संकलन गरी परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएर भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै साँझ ६ बजे उनको मृत्युु भएको थियो ।

मृतक बालकको पीसीआर परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

कोरोना सङ्क्रमणले बालकको मृत्यु भएको पुष्टि भएपछि बालकको शव नेपाली सेनाको जिम्मा लगाइएको र सेनाले परिवारको समन्वयमा केही बेरमा शव व्यवस्थापन गर्ने प्रनाउ मिश्रले जानकारी गराउनु भयो ।

योसँगै बारामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि करैयामाई गाउँपालिकाका एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

मृत्यु भएका बालकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि निजगढ बजार पुर्णरुपमा बन्द गरिको नगर प्रमुख सुरेश खनालले जानकारी गराउनु भयो । बालकको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङ्ग भइसकेको र उनीहरुलाई क्वरेन्टीनमा  राख्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया