पर्वत पहिरो : दुई परिवारका आठ जनाको ज्यान गयो, एक अझै बेपत्ता

 जेठ ३२, २०७७ आइतबार १८:१६:३६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा शनिबार राति गएको पहिरोले दुई घर पुरिँदा आठ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । 

पर्वतको मोदी गाउँपालिकासँग जोडिएको दुर्लुङ गाउँमा शनिबार भिषण खण्डवृष्टि भएको थियो । तुलबहादुर थापाको घरमा रहेका ६ जना र कमला विकको परिवारमा रहेका तीन जना पहिरोमा परेका थिए । 

पहिरोले ६२ वर्षीय तुलबहादुर थापासहित उहाँकी ५८ वर्षीया श्रीमती मिनकुमारी थापा, छोरी दिर्पा थापा, नाती–नातिनीहरु विवेक थापा, सम्राट थापा र विदिशा थापाले एउटै पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । 

१५ वर्षीय छोरा विवेक थापाको एसईई परीक्षा अनिश्चित भएपछि माइती घर बस्न आउनुभएकी बाग्लुङ जिल्ला जैमिनी नगरपालिका पैञ्यु थन्थापकी ३४ वर्षीया दिर्पा थापा छोरा र बाबुआमासँगै पहिरोमा पुरिएकी हुन् । 

त्यस्तै कमला विकसहित उहाँकी आठ वर्षीया छोरी जेनिशा विकको ज्यान गएको छ भने छोरा १२ वर्षीय जेनिश विक अझै बेपत्ता छन् । 

वाग्लुङ घर भइ लामो समयदेखि कुश्मा बजारमा छोरा विवेकलाई पढाएर बस्दै आएनुभएकी दिर्पा लकडाउन सुुरु भएसँगै माइती गाउँ दुर्लुङ जानुभएकाे थियाे । आफू माइतीघर गएर छोरा विवेकलाई बाग्लुङ घर पठाउनुभएकी दिर्पाले एक हप्ताअघि मात्रै छोराको न्यास्रो लागेको भन्दै फेरि सवारी पास बनाएर छोरालाई माइती घरमा नै बोलाउनुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया