ओमानबाट १६६ नेपाली स्वदेश फर्कंदै, साढे १ बजे काठमाण्डौ आइपुग्ने

 असार १, २०७७ सोमबार १०:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा समस्यामा परेका नेपाली आज स्वदेश फर्कंर्दै छन् । ओमानमा रहेको नेपाली दूतावासले सलाम एअरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई आज स्वदेश फर्काउन लागेको हो । 

ओमानबाट लिएर आएको जहाज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

सरकारले तोकेको भाडाभन्दा सस्तो दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको व्यवस्था मिलाएको छ । 

एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।

ओमानबाट फर्कनेको साथमा पीसीआर जाँचको नेगेटिभ रिपोर्ट साथमा भएपछि क्वरेण्टीनमा बस्न नपर्ने र सिधै होम क्वरेण्टीनमा जान पाइने दूतावासले जनाएको छ ।
दोस्रो उडान असार ४ गते हुँदैछ ।  यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया