सुदूरपश्चिम प्रदेशले ल्यायाे ३३ अर्ब २८ करोडकाे बजेट

 असार १, २०७७ सोमबार २१:२८:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको आउँदो आर्थिक वर्ष २०७७/०७८ काे लागि प्रदेश सभामा बजेट प्रस्तुत भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले बजेट प्रस्तुत गर्नुभएकाे हाे । सुदूरपश्चिम सरकारले आउँदो आर्थिक वर्षकाे लागि ३३ अर्ब बढी रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सभामा प्रस्तुत बजेट अनुसार ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको बजेट आएको हो । त्यसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख रुपैयाँ अर्थात् कुल बजेटको साढे ४२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ अर्थात् कुल बजेटको ५० दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ ।  

चालु आव २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । 

प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ काे लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

आर्थिक मन्त्री बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपूरकसमेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताउनुभयो । 

चालु आवकाे लागि त्यही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । सुदूरपश्चिम सरकारले यस वर्ष कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारकाे योजनामा बढी बजेट विनियोजन गरेको छ । 

स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाकाे कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगार कार्यक्रमलाई प्राथमिकताका साथ बजेट परेको छ । कोरोनाका कारण रोजगारी तथा आयस्राेत गुमाएका प्रदेशबासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडि सारिएको छ ।  

कोरोना भाइरसको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै त्यही अनुसारका कार्यक्रमलाई समेत समावेश गरिएको छ । सरकारले आउँदो वर्ष कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान’ कामका लागि खाद्यान्न सञ्चालन गर्ने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा कोरोनाकाे कारण फर्किएका लाखौँ नेपालीहरुलाई लक्षित गरेर कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ । बजेटमा विदेशबाट फर्केकाहरुलाई स्वरोजगार कार्यक्रममा जोड्ने र त्यसकाे लागि स्वरोजगार कोषमार्फत विना धितो ऋण प्रवाह गरिने उल्लेख छ । स्वदेश फर्केकाहरुलाई कृषि र गैर कृषिमा आबद्ध हुने गरी कार्यक्रम ल्याइएका छन् । 

रोजगारी सिर्जनासँगै कृषिलाई व्यावसायिक बनाउन किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ । स्वरोजगारी र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमीलाई पनि प्रोत्साहनकाे कार्यक्रम बजेटमा ल्याइएका छन् । बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सङ्क्रमितको उपचारकाे लागि आवश्यकताकाे आधारमा थप शय्या व्यवस्थापन गर्दै लैजाने, नाैवटै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा मोलिक्युलर सेटअपसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । 

प्रदेशमा एउटा सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, एक सय शय्याको सरुवा रोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया