सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी

 असार ३, २०७७ बुधबार १८:२६:५० | मल्लिका थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सार्वजनिक यातायात सञ्चालनकाे लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले जानकारी दिनुभयाे ।

महानिर्देशक हमालले सिट क्षमताको आधा सङ्ख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेलगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको जानकारी दिनुभयो । तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले सहमति जनाएका छैनन् ।

विभागका महानिर्देशक हमालले भन्नुभयो, 'सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको हो, यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ ।' सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दुरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासङ्घको माग छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, 'विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी हुँदैन ।' ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासचिव सिटौलाले उनीहरूलाई अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने बताउनुभयो । 

माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउन थाल्ने व्यवसायीको तयारी छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया