कैलालीका कोरोना सङ्क्रमित बस चालक : जसले एयर एम्बुलेन्स पर्खिँदा पर्खिँदै ज्यान गुमाउनुपर्‍याे

 असार ४, २०७७ बिहिबार ७:२:४३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय सङ्क्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । 

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेका उहाँको बुधबार साँझ मृत्यु भएको हो । उहाँको मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । यसअघि उहाँको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो ।

उहाँले यसअघि अत्तरियाका क्लिनिक र अस्पतालमा धाउनुुभएको थियो भने नवजीवन अस्पतालमा जानुअघि उहाँ धनगढीकै माया मेट्राे हस्पिटलमा उपचारका लागि जानुभएको थियो । उहाँलाई त्यहाँ भर्ना गर्न भनिएकोमा भर्ना नभएरै फर्किनुभएको थिए । त्यसपछि उहाँ नवजीवन अस्पतालको आईसीयूमा उपचार गराइरहनुभएको थियो । त्यहाँ उपचार गर्दा गर्दै उनलाई कोरोना पुष्टि भएको थियो ।

ती सङ्क्रमित पुरुषले भारतबाट आएकाहरुलाई क्वरेन्टीनसम्म बस मार्फत पुर्‍याउँदै आउनुभएको थियो । उहाँ बस चालक मात्रै नभएर आफैँ बस मालिकका साथै सार्वजनिक यातायात व्यवसायी संघका सदस्य पनि हुनुहुन्थ्यो । 

महेन्द्रनगरको यातायात समितिमार्फत उहाँले बस चलाउँदै आउनुभएको थियो । कोरोनाबाट मृत्यु भएका उहाँले सिमानामा अलपत्र परेका सयाँै नेपालीलाई क्वरेन्टीनसम्म सुरक्षित पुर्याउनुभयो तर आफ्नो उपचारका लागि गन्तव्यमा जाने व्यवस्था नहुँदा ज्यान गुमाउनुभयो ।

गम्भीर अवस्थामै नवजीवनको आईसीयूमा उपचार गराइरहनुभएका उहाँलाई आइतबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याएर उपचार थालिएको थियो । कोरोना अस्पतालमा पनि उहाँको अधिकांश समय आईसीयू र भेन्टिलेटरमै बित्यो । सामान्य सुधार आए पनि उहाँको अवस्था चिन्ताजनक नै रहेको थियो । उहाँलाई उपचारका लागि काठमाण्डौ लैजान एयर एम्बुलेन्सको व्यवस्था गर्नका लागि सोमबारदेखि लागेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकास मन्त्रालयले मंगलबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेर एयर एम्बुलेन्सका लागि भनेको थियो । 
बुधबार बिहानसम्म एयर एम्बुलेन्स आउने भनिएकोमा साँझसम्म पनि नआउँदा उहाँको मृत्यु भएको हो । ‘तीन दिनदेखि एयर एम्बुलेन्सका लागि पहल गरिरहेका थियाँै । मन्त्री ज्यु ले पनि जसरी पनि उपचारका लागि काठमाण्डौ पठाउनु पर्यो भन्नुभएको थियो’, सूचना अधिकारी खड्काले भन्नुभयो,  ‘विभिन्न निजी कम्पनीहरुसँग मैले आफँै कुरा गरेको थिएँ । अन्त्यमा सेना तयार भएको थियो । पछि किन पठाइएन त्यसबारेमा जानकारी भएन ।’

मंगलबारदेखि नै उपचारका लागि काठमाण्डौ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि एयर एम्बुलेन्स पाइएको थिएन । आफूहरुले पनि एयर एम्बुलेन्सका भनेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न ठाउँमा पुर्‍याउने क्रममा उहाँ सङ्क्रमित हुनुभएको थियो ।


उहाँ कहिले आफैँ बस चलाउनुहुन्थ्यो त कहिले बसको क्याबिनमा चालकसँगै बस्नुहुन्थ्योे । त्यही क्रममा उहाँ सङ्क्रमित भएको बताइएको छ । 

सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उहाँको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । उहाँलाई उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको थियो । खराब मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डाैबाट धनगढी आउन सकेन । 

आज उहाँको उद्धारका लागि निगमको सानो जहाज धनगढी आउने पक्का भएको थियो । तर अब जहाज आउनु परेन । अरुको उद्धार गर्दागर्दै सङ्क्रमित भएका उहाँको भने उद्धार हुन नपाएरै मृत्यु भयो । एयर एम्बुलेन्स नआउँदा उहाँ सदाका लागि अस्ताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया