पर्वतको कुश्मा बजार फेरि बन्द

 असार ७, २०७७ आइतबार २०:४३:१५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – एक हप्ताअघि लकडाउन खुकुलो भएपछि खुलेको पर्वत सदरमुकाम कुश्मा बजार खुलेको एक हप्तापछि फेरि बन्द भएको छ । जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय पर्वतले गएको शुक्रबार नै अत्यावश्यक सेवाबाहेक सबैै क्षेत्र बन्द गर्न उर्दी जारी गरे पनि कुश्मा बजारका व्यवसायीहरुले अटेर गरेपछि आइतबार दिउँसो सुरक्षाकर्मी परिचालन गरी व्यवसाय बन्द गराइएको हो । आइतबार दिउँसो खुला भएका सबै पसलहरु सशस्त्र र नेपाल प्रहरीले बन्द गराएका छन् ।

कोरोना सङ्क्रमणको उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अत्यावश्यक सेवाका पसल पनि बिहान र बेलुका मात्रै खोल्न थालिएको छ । कन्ट्याक्ट ट्रेसिङ नसकिएसम्म बजारमा भिडभाड हुन नदिन बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘पछिल्लो समयको परिस्थितिलाई ध्यानमा राखेर लकडाउनमा कडाइ गरेका हौँ’, प्रजिअ रेग्मीले भन्नुभयो ‘मास्क नलगाइ र विना काम र राति हिँड्नेलाई पनि नियन्त्रणमा लिन्छौँ ।’

जिल्ला अस्पतालमा कोरोना सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरुले असार २ गतेदेखि ४ गतेसम्म तीन सयभन्दा बढी विरामीको स्वास्थ्य जाँच गरेको भन्ने अस्पतालको तथ्याङ्कमा भेटिएपछि सम्पर्कमा आएका विरामीहरुको खोजी कार्य सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सूचना नै जारी गरेर असार ९ गते स्वाब सङ्कलनका लागि अस्पतालमा आएका बिरामीहरुलाई आह्वान गरेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया