सुदूरपश्चिममा एक हप्तामै ७४६ जना कोरोना सङ्क्रमित थपिए

 असार ८, २०७७ सोमबार १०:३२:२४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा केही दिनयता कोरोना सङ्क्रमण दर तीव्र रुपमा बढेको छ । पछिल्लो एक हप्तामा मात्रै प्रदेशमा सात सय ४६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिले सङ्क्रमितको संख्या एक हजार २४ पुगेको छ । भारतबाट फर्केका हजारौंको परीक्षण नभएकाले परीक्षणको दायरा बढाए सङ्क्रमितको संख्या निकै नै बढ्ने डाक्टरहरुको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा असारयता गरिएको नमुना परीक्षणमा सात सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवम् कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । तीन दिनमा मात्रै पाँच सय ५६ जना सङ्क्रमित थपिएको उहाँको भनाइ छ ।

अहिलेसम्म सबैभन्दा बढी असार ४ गते सुदूरपश्चिमका दुई सय २४ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताउनुभयो । यस्तै असार ५ मा एक सय ७१ जना र असार ६ मा एक सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको कोरोना फोकल पर्सन कार्कीले जानकारी दिनुभयो । मन्त्रालयको तथ्यांक अनुसार असार १ गते ६६, २ गते १७ र ३ गते ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेशभर कोरोना जाँच हुने प्रयोगशाला एउटै हुँदा परीक्षण सुस्त भएपछि चार दिनयता यहाँबाट स्वाब पठाएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्न थालिएको छ । आइतबार पनि सुदूरपश्चिमका ७६ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जना र सेतीको प्रयोगशालामा ४३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा पाँच जनाको निधन भइसकेको छ । यस्तै साढे पाँच हजार स्वाब परीक्षण हुन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । धनगढीमा परीक्षण सुस्त हुँदा स्वाब थुप्रिएपछि पाँच हजार चार सय १२ वटा नमुना परीक्षणका लागि काठमाण्डौ पठाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निमित्त प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो ।

भारतबाट जेठयता मात्रै करिब डेढ लाख मानिस यस प्रदेशमा भित्रिएका छन् । तर अहिलेसम्म साढे १० हजार जनाको मात्रै स्वाब जाँच गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया