कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक

 असार ८, २०७७ सोमबार ११:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भर्चुअल कार्यक्रम मार्फत काेभिराकाे लाेकार्पण गरिदै

काठमाण्डाै – कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । 

यो विधि प्रयोग गर्न www.covira.info  वेबसाइटमा जानुपर्नेछ । वेबसाइटमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मूल्याङ्कन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय जोखिम पनि हेर्न सकिन्छ । एशोसिएशनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताउनुभयो । बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्याङ्कन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताउनुभयो । 

अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्याङ्क विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेशन’ भएको दाबी गरिएको छ । बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्नेबारे प्रस्तुति दिनुभएको थियो । यस विधिले कोभिड सङ्क्रमण भएमा पनि उमेर, लिङ्ग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्नेबारे आँकलन गर्नेछ ।

साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला विश्वविद्यालयका डा भोजराज घिमिरेले यसमा प्रयोग भएको  प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिनुभएको थियो । साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्याङ्क समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेशन’ निर्माण गर्ने जनाइएको छ । 

कोभिरा के हो ? कसरी प्रयोग गर्ने ?

कोभिरा, हाल चलिरहेको कोभिड–१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सकिनेछ । यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्याङ्कन गर्नेछ ।

यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्याङ्कन नक्सा पनि राखिएको छ । सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिनेछ । 

व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ ।

यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ । 

काेभिराकाे लाेकार्पण भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया