सुदूरपश्चिम : ४० हजारभन्दा बढी हेक्टरमा रोपाइँ सकियो

 असार ९, २०७७ मंगलबार १०:३३:५५ | सीताराम ओझा

कैलाली – सुदूरपश्चिम प्रदेशको ४० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । समयमै मनसुन भित्रिएपछि असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । सुदूरपश्चिमको ९ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

अघिल्लो वर्षको असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपाली समयमै पानी परेपछि किसानलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाइँ भएको छ । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले यस वर्ष चाँडो पानी परेकाले रोपाइँ सुरु गर्न सहज भएको बताउनुभयो। सिँचाई सुविधा पनि विस्तार भएकोले किसानलाई आकाशे पानीको भर पर्नुपर्ने खेत पनि कम हुँदै गएको छ ।

प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भने धानका लागि उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कैलाली पनि कम रोपाइँ हुने जिल्लाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कैलालीमा कञ्चनपुरभन्दा दुई प्रतिशत बढी अर्थात १७ प्रतिशत रोपाइँ भएको निर्देशक जोशीले बताउनुभयो । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ७ हजार दुई सय ५६ हेक्टरमा रोपाइँ सकिएको छ ।

कहाँ कति भयो रोपाइँ ?

कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९२ हेक्टरमा रोपाइँ भएको छ । पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांक रहेको छ । ७ हजार दुई सय २० हेक्टरमा धान खेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाइँ सकिएको छ ।

अछाम र बैतडीमा ४०, ४० प्रतिशत रोपाइँ भएको छ । अछाममा धान खेती हुने १६ हजार ५ सय ८० हेक्टरमा ६ हजार ६ सय ३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६ सय हेक्टरमा रोपाइँ भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिनुभयो ।

दार्चुलामा ३५, डोटी र बझाङमा २५, २५ र डडेल्धुरामा २० प्रतिशत भूभागमा धान रोपीसकिएको जोशीले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा ४ हजार ४ सय ४८ हेक्टरमा धान खेती हुने गरेकोमा एक हजार ५ सय ६८, बझाङमा ७ हजार एक सय १० मा एक हजार ७ सय ७६ र डोटीमा १० हजाार ८ सय ९८ हेक्टरमा धान खेती हुने गरेकोमा दुई हजार ७ सय २५ हेक्टरमा रोपाइँ भएको छ । त्यसैगरी डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिंदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाइँ गरिएको छ ।

यसवर्ष मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाँडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

‘अवश्य पनि यसपाली समयमै रोपाइँ सकिन्छ, यसले उत्पादन बढ्छ, तर यसपछि के हुन्छ भन्न सकिंदैन,’ जोशीले भन्नुभयो, ‘अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भईसकेको छ, यो कृषि क्षेत्रका लागि सकारात्मक हो, यसले उत्पादनमा वृद्धि गराउन मद्दत मिल्छ ।’

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया