करेन्ट लागेर नवलपुरमा २ जनाको ज्यान गयो

 असार ९, २०७७ मंगलबार १७:१६:२३ | दयाराम आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर मङ्गलबार दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मोहनबहादुर खाँणले दिनुभएकोे जानकारी अनुसार गाउँपालिका ३ काे सर्दीमा रहेकाे खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेन्ट प्रवाह हुँदा  दुई जनाको ज्यान गएको हो ।  

लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा टिप्परकाे पछाडिको भाग ( ढाला ) माथि उठाउँदा बिजुलीको तारमा छुन पुग्दा ढालामा करेन्ट प्रवाह हुँदा टिप्परका चालक र सहचालकको घटनास्थलमा नै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा स्याङ्जा चापाकोट नगरपालिका ६ का ३२ वर्षीय चालक भरत थापा र नवलपुरको विनयी त्रिवेणी ५ धुरकोट देवरालीका १७ वर्षीय सहचालक आशिष विक रहेका छन् । यस्तै त्यही खोलामा नुहाइरहेका कास्की उपमहानरपालिका १७ का ४५ वर्षीय कृष्णबहादुर पाण्डे लु २ ख ४४४८ नम्बरका टिप्पर चालक घाइते हुनुभएको छ । नुहाइरहेका पाण्डे खोलामा प्रवाह भएको करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतककाे शव पाेस्टमार्टमकाे लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया