हेटौँडामा कोरोनाबाट मृत्यु भए ३ लाख राहत

 असार १०, २०७७ बुधबार १३:५५:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभा बैठक बुधबार हेटौँडामा भएको भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०७७ ०७८ को लागि दुई अर्ब आठ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो । 

लकडाउनको कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको मेयर हरिबहादुर महतले बताउनुभयो । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने मेयर महतले बताउनुभयो । 

बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ तीन करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर मिनाकुमारी लामाले बताउनुभयो ।  

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाँडफाँडबाट ५५ करोड तीन लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट आठ करोड ३५ लाख ९८ हजार तथा सङ्घीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ । 

कोरोनाबाट मृत्यु भएमा ३ लाख

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप तीन लाख रुपैयाँ राहत दिने भएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताउनुभयो । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रर्वद्धनको लागि भ्यु टावर तथा टोनी हेन पार्क निर्माण गरिने भएको छ । आज हेटौँडामा भएको नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनी हेगन पार्क तथा हेटौँडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडामा भ्यु टावर निर्माण गरिने भएको हो । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ मा रहेको चन्द्रोदय मावि परिसरमा रहेको खेल मैदानमा एक वर्षभित्रै प्याराफिटसहितको खेलकुद मैदान निर्माण हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर लामाले प्रदेश सरकारको सहकार्यमा प्याराफिटसहितको खेल मैदान निर्माण हुने बताउनुभयो । खेल मैदान निर्माणको लागि दुई करोड ५० लाख रुपैयाँ विनयोजन गरिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकासको लागि दुई करोड ३५ लाख, कोरोना उपचार कोषको लागि दुई करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रको लागि एक करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याड वितरणको लागि एक करोड तीन लाख रुपैयाँ विनियोजन भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया