सुदूरपश्चिममा एकैदिन भेटिए अहिलेसम्मकै धेरै सङ्क्रमित, २७२ जना थपिए

 असार १०, २०७७ बुधबार १९:३०:३७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा बुधबार एकैदिन दुई सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशालामा भएको परीक्षणमा प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित फेला परेका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरमा १६ महिला र ६९ पुरुषसहित ८५ जना, कैलालीमा नाै महिला र ३९ पुरुषसहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछाममा १० पुरुष, बाजुरामा सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु​भयो ।

उहाँका अनुसार अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिकाका ६ महिला र १९ पुरुषसहित २५, गोदावरी नगरपालिकाका चार महिला र २८ पुरुषसहित ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ४९ पुगेको छ । 

अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय आठ, डडेल्धुराका दुई सय पाँच, बैतडीका एक सय ६०, डोटीका दुई सय नौ, कञ्चनपुरका एक सय ९४, अछामका एक सय १२, बाजुराका एक सय, बझाङका ४४ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ७५ जना निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया