दैलेख : आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

 असार ११, २०७७ बिहिबार २१:१८:२९ | अमर सुनार
unn.prixa.net

दैलेख – आत्महत्या गरेका दुल्लु नगरपालिका-१० गमौडीका २१ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार बिहान घरमै आत्महत्या गरेका युवक क्वरेण्टीनबाट फर्किएको जानकारीको आधारमा दुल्लु अस्पतालले स्वाब सङ्कलन गरी कर्णाली प्रदेश प्रयोगशालामा पठाएको थियो । 

नोजल स्वाब पठाएकोमा बिहीबार प्रयोगशालाले आत्महत्या गरेका ती युवकसमेत दैलेखका २६ जना नयाँ सङ्क्रमित थपिएको जनाएको दुल्लु अस्पतालका इञ्चार्ज डा. पूजा बीसीले जानकारी दिनुभयो । 

एकजना थपिएसँगै दैलेखमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । यसअघि क्षयरोगको उपचार गराउन कर्णाली प्रदेश अस्पताल भर्ना भएका दुल्लु नगरपालिका ३ नेपा गाउँका ४५ वर्षीय पुरुषको असार ९ गते र वडा नं. १० कालभैरवका ३५ वर्षीय पुरुषको गएको जेठ १७ क्वरेण्टीनमा मृत्यु भएको थियो ।
 
मृतक तीन जनामध्ये आत्महत्या गरेको यी युवकको ज्यान गइसकेपछि र अरु दुई जनाको नोजल स्वाब लिइएको तर पीसीआर रिपार्ट नआउँदै मृत्यु भएको थियो । गएको जेठ ११ गते गाउँ पुगेका ती युवकले १४ दिन क्वरेण्टीनमा बसी घर फर्किएको १६ दिनमा आत्महत्या गरेका हुन् ।

कोरोना सङ्क्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्ने सरकारको नीति भएको कारण ती युवकको शव दुल्लु अस्पतालमै रहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया