प्रधानमन्त्रीको अभिव्यक्तिपछि बेसारको चर्चा : सुदूरपश्चिममा भारतबाट ५५ लाखको आयात

 असार १२, २०७७ शुक्रबार १०:४८:३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – अघिल्लो बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिनुभयो । बेसारको महत्व र बेसारका फाइदाबारे प्रधानमन्त्रीले लामो टिप्पणी गरेपछि त्यही विषयलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ ।

नेपालमा चालू आर्थिक वर्षको १० महिनामा २८ करोडको बेसार आयात हुँदा सुदूरपश्चिममा आधा करोड भन्दा बढीको बेसार आयात भएको छ । देशका अन्य भन्सार नाकाभन्दा कम मात्रामा सामान आयात हुने सुदूरपश्चिमका नाकाबाट चालू आर्थिक वर्षको अहिलेसम्म ५५ लाख बढीको बेसार भारतबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार सुदूरपश्चिममा १० महिनाको अवधिमा ५४ लाख ९३ हजार ८९० रुपैयाँको बेसार आयात भएको छ । सुदूरपश्चिममा नित्रगर र गड्डाचौकी गरी दुईवटा नाका भए पनि बेसार भने त्रिनगर नाका भएर मात्रै आयात हुने गरेको छ । 

‘यो नाका भएर निकै कम मात्रामा मात्रै बेसार आउने गरेको छ, बेसारबाट हामीले चालू आर्थिक वर्षमा ५ लाख २५ हजार एक सय ९३ रुपैयाँ राजश्व प्राप्त गरेका छौं’ त्रिनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले भन्नुभयो, ‘यो नाकाबाट आउने भनेको तयार पारिएको बेसारको धुलो हो ।’

अधिकृत अर्यालका अनुसार अहिलेसम्म यस नाकाबाट २४ हजार सात सय ४४ किलो बेसार भित्र्याइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर भने बेसार आयात नभएको देखिएको छ । त्यहाँका प्रमुख भन्सार अधिकृत नहकुल शर्माका अनुसार भन्सारबाट आयात हुने सबै सामानहरुको सूची कम्प्युटर प्रणालीमा चढाउने गरिएको छ । तर भन्सार विभागले नियन्त्रण गर्ने यस प्रणालीमा गड्डाचौकीबाट एक रुपैयाँको पनि बेसार आयात नभएको शर्माले बताउनुभयो । 

‘हाम्रो नाकाबाट बेसार आएको तथ्यांक नै छैन । सानोतिनो व्यवसायिक प्रयोजनको लागि पनि ल्याएको देखिएन’, भन्सार अधिकृत शर्माले भन्नुभयो ।

यस वर्ष आयात बढी

कैलालीको त्रिनगर भन्सार नाकाबाट अघिल्लो आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा बेसारको आयात दोब्बर भएको छ । अघिल्लो आर्थिक वर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको बेसार आयात भएको थियो ।

सुदूरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन बेसार उत्पादन हुने गरेको छ । सुदूरपश्चिम कृषि निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । कैलालीमा सबैभन्दा बढी ९ सय २५ हेक्टर क्षेत्रफलमा र डडेल्धुरामा सबैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा बेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा बेसार खेती गरिन्छ । दार्चुला पनि कम कसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा बेसार खेती हुन्छ ।

बैतडी, बझाङ्ग, डोटी, अछाम र बाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा बेसार खेती हुने निर्देशक जोशीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया