पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमण

 असार १३, २०७७ शनिबार ११:७:२८ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा कोरोना सङ्क्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ सङ्क्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।  भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।

ज्यान गुमाएका ती पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । 

सडकदेखि शव व्यवस्थापनस्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ । शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ ।

मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाई सुरक्षित राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली गणले जनाएको छ ।

शुक्रबार थपिएका ७७ जना सँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४६ पुगेको छ । पाल्पाका १० वटै पालिकामा देखिएका कोरोना सङ्क्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया