कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्ने आँटिला चालक

 असार १३, २०७७ शनिबार १४:२६:५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) र यसका सङ्क्रमितको उपचारमा स्वयम् चिकित्सक नै त्रसित छन् । 

त्यसमा पनि कोरोना भाइरसकाे कारण ज्यान गुमाउनेहरुको शव छुन जो कोहीले चाहँदैनन्, सक्दैनन् र आँट गर्दैनन् पनि । कोरोना भाइरसकाे कारण ज्यान गएका व्यक्तिको परिवारले शव छुन नपाउने कानुनी कार्य व्यवस्था छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले सङ्क्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

तर गएको जेठ ३ गते साँझ सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा कोरोनाकाे कारण कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का एक जना बस चालक तथा व्यवसायी ४६ वर्षीय पुरुषको ज्यान गयो ।

उहाँको तीन गते साँझ ज्यान गएको भए पनि ४ गते शव व्यवस्थापनको काम नेपाली सेनाले गर्नुपर्ने थियो । उहाँको शव परिवारका सदस्यले त उठाउन पाएनन् भने अरुले पनि बोक्न त के छुन समेत हिच्किचाए ।

कसैले उहाँको शव बोक्न मानेनन् । धनगढीमा रहेकाे एम्बुलेन्सले समेत शव उठाउन मानेन । तर नेपाल रेडक्रस सोसाइटी कैलालीमा १७ वर्षदेखि एम्बुलेन्स चलाउँदै आउनुभएका देवीलाल ओझा तयार हुनुभयो । उहाँले स्वास्थ्य सतर्कतासहित व्यवस्थित ढङ्गले शवलाई मोहना आर्यघाटसम्म पुर्‍याउनुभयाे ।  

अस्पतालबाट आर्यघाटसम्म पुर्‍याउने काम गरेसँगै अहिले सामाजिक सञ्जालमा उहाँको प्रशंसा हुनुकाे साथै हौसला बढाउने काम भइरहेको छ ।

जेठ ३ गते अत्तरियाका एक जना पुरुषको कोरोनाले ज्यान गएपछि तेघरी ब्यारेकबाट नेपाली सेनाको टोली जेठ ४ गते बिहानै सेती अञ्चल अस्पताल पुगिसकेको थियो । तर सेनालाई शव व्यवस्थापनकाे लागि मोहना आर्यघाटसम्म लैजान समस्या थियो । सेनाले सहयोगको लागि विभिन्न ठाउँहरुमा भने तर कोही पनि तयार भएनन् । कुनै विकल्प नपाएपछि सेनाले नेपाल रेडक्रस सोसाइटी कैलालीसँग गुहार माग्याे । रेडक्रससँग एम्बुलेन्स र शव वाहन थियो । चालक पनि दुई जना थिए ।  

देवीलाल ओझा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकाको शव लिन कैलालीकाे लालपुरमा जानुभएको थियो । रेडक्रसबाट फोन आएपछि उहाँ दुर्घटनाका मृतकको शव बोकेर सेती प्रादेशिक अस्पतालतिर हानिनुभयो । अस्पतालको शव गृहमा पुग्दा सेनासहित तीनै तहका सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । दुर्घटनामा ज्यान गुमाएकालाई पोस्टमार्टमकाे लागि शव गृहमा राखियाे । शव गृहमा पुग्दा त्यहाँ कोरोनाकाे कारण ज्यान गुमाएका पुरुषका आफन्त र शुभचिन्तकहरुको भिड लागेको थियो । 

उहाँ त्यहाँ पुग्दासम्म कसैले पनि शव उठाउने प्रयास गरेका थिएनन् । सेनाहरु ओझाकै पर्खाइमा थिए । एम्बुलेन्स चालक शव गृहमा पुग्दासम्म शव ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरी सकिएको थियो ।

ओझा त्यहाँ पुगेपछि सेनासँगै मिलेर शवलाई गाडीमा राख्न अग्रसर हनुभयो । डेढ दशकदेखि एम्बुलेन्स चलाउँदा ओझाले हजारौँ बिरामी बोकिसक्नुभएको थियो । 

उहाँले यति लामो वर्षसम्म शव बोकेर सेवा गर्दै आउनुभएको थियो तर अहिले कोरोनाले मरेकाको शव बोक्न सक्दिन कसरी भन्नुहुन्थ्यो र ? उहाँले त्यसो गर्नुभएन । सेनासँगै मिलेर शवलाई शव वाहनमा राख्नुभयो । गाडी रफ्तारमा मोहना आर्यघाटमा पुग्यो । सेनाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले ओझालाई बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन ।

तर शवको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाेले देवीलाल ओझा  विचलित हनुभएन । शवलाई गाड्नुपर्ने थियो । त्यहाँ पनि सेनासँगै अग्रसर हुनुभयो । 

शवलाई गाडिसकेपछि शव बोकेको गाडी चलाउँदै मोहना आर्यघाटबाट नेपाल रेडक्रस सोसाइटी कैलालीको व्यावसायिक भवनमाथि रहेको गेस्ट हाउसमा पुग्नुभयो । अहिले उहाँ १० दिनदेखि आइसोलेशनमा हनुहुन्छ । चार दिन अझै त्यही बिताउनुपर्नेछ ।  

योे अवधिमा उहाँलाई कसैले भेटेका पनि छैनन् । गेस्ट हाउसको एक कोठामा एकान्तवासमै बस्नुभएकाे छ । आइसोलेशनमा रहँदा उहाँको कोरोना परीक्षण हुँदैछ । अहिलेसम्म केही पनि स्वास्थ्य समस्या देखिएको छैन । 

क्वरेण्टीन अवधि सकिएपछि उहाँ फेरि बिरामीकाे उद्धारमा सक्रिय रहने बताउनुहुन्छ ।

सुदूरपश्चिममा कोरोनाकाे कारण अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ । त्यसमा कैलालीका चार जना र बाजुरामा दुई जनाको ज्यान गएको छ । बाजुरामा सेनाले आफै शव व्यवस्थापन गरेको हो भने कैलालीकी एक महिलाको बाँकेमा शव व्यवस्थापन गरिएको थियो । यस्तै धनगढीकी एक महिलाको उनका परिवार र आफन्तले अन्त्येष्टि गरिसकेका थिए । अन्त्येष्टिपछि नै उनीहरुमा कोरोना पुष्टि भएको थियो ।

सुदूरपश्चिममा मृत्युअघि कोरोना पुष्टि भएका अत्तरियाका ४६ वर्षीय पुरुषको शव व्यवस्थापनमा देवीलाल अगाडी सर्नुभएको हो । यस्तो अवस्थामा विभिन्न बहाना बनाएर शव बोक्न नमानेको थाहा पाएपछि आफू अघि सरेको देवीलाल बताउनुहुन्छ ।

उहाँको यस्तो साहसलाई सबैले सलाम गरेका छन् ।

शनिबार फेरि कैलालीका अर्का ५० वर्षीय पुरुषको चितवनमा ज्यान गएको छ । उहाँकाे शव व्यवस्थापन कसले र कहाँ गरिन्छ भन्नेबारेमा जानकारी प्राप्त भइसकेकाे छैन ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया