सुदूरपश्चिम बेसारमा आत्मनिर्भरः एक वर्षमा १८ हजार बढी मेट्रिक टन उत्पादन, आयात २५ मेट्रिक टन मात्रै

 असार १४, २०७७ आइतबार २०:१३:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – अघिल्लो बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना सङ्क्रमणबाट बच्न बेसारले सहयाेग पुग्ने अभिव्यक्ति दिनुभएको थियो । बेसार किन खाने ? बेसारका फाइदा के–के छन् ? जस्ता विषयमा प्रधानमन्त्रीले लामो टिप्पणी गरेपछि त्यही विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शङ्का नरहे पनि यसबाट कोरोना निको हुने कुनै वैज्ञानिक प्रमाण भने अहिलेसम्म भेटिएको छैन । 

प्रधानमन्त्रीको बेसार मन्तव्यलाई लिएर समर्थन र विरोधमा चौतर्फी आलोचना र प्रशंसा चलिरहेको छ । बेसार जिन्जिबेरसी परिवारको एक कन्दमुल हो । यसको वैज्ञानिक नाम ‘करक्युमा लोगा’ हो ।

बजारमा बेसार

बजारमा बेसारको मूल्य प्रतिकिलो तीन सयदेखि पाँच सय रुपैयाँसम्म रहेको छ । थोक बजारमा बेसारको मूल्य गुणस्तर हेरेर दुई सय ५० देखि तीन सय रुपैयाँसम्म पर्न जाने धनगढीको कामना मसला उद्योगका प्रबन्धक तथा युवा व्यवसायी पङ्कज देउवाले बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको बेसारले अहिलेसम्म धानिरहेको छ ।

सुदूरपश्चिममा बेसार खेतीको स्थिति 

सुदूरपश्चिममा बेसार खेती विस्तार हुँदै गएको छ । रोपेकाे नाै महिनापछि बेसार प्रयोगकाे लागि योग्य रहन्छ । नेपालको हावापानी अनुसार औसत एक रोपनीमा दुईदेखि साढे दुई मेट्रिक टन बेसार उत्पादन गर्न सकिने बताइएकाे छ । 

सुदूरपश्चिममा बर्सेनि १८ हजार चार सय ७७ मेट्रिक टन बेसार उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा बेसार खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदूरपश्चिम कृषि निर्देशनालयको तथ्याङ्क छ । कैलालीमा सबैभन्दा बढी नाै सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सबैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा बेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा बेसार खेती गरिन्छ । दार्चुला पनि कम बेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा बेसार खेती हुन्छ । बैतडी, बझाङ, डोटी, अछाम र बाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा बेसार खेती हुने निर्देशक जोशीले बताउनुभयो । 

बेसार खेतीको सम्भावना

सुदूरपश्चिममा बेसार खेतीको प्रबल सम्भावना रहेको कृषि निर्देशक जोशी बताउनुहुन्छ । उहाँका अनुसार यस क्षेत्रको हावापानी, माटो बेसार खेतीकाे लागि उपयुक्त छ । 

विभिन्न आयोजनामार्फत अनुदान दिइन थालेपछि बेसार खेती वार्षिक रुपमा वृद्धि हुँदै गएको छ । यसमा कुनै पनि रोग नलाग्ने र उबडखाबड जमिनमा पनि खेती गर्न सकिने भएकोले यसको सम्भावना राम्रो रहेको छ । यसको बजार पनि प्रशस्त भएकोले राम्रो मूल्य पाउने अवस्था रहेको कृषि निर्देशक जोशीको भनाइ छ । 

हावापानी 

बेसार खेती गर्मी र आद्र हावापानीमा राम्रो हुने भए पनि हलुका छायाँ भएको ठाउँमा पनि यो बिरुवाको वृद्धि विकास सफलतापूर्वक हुन सक्छ । बेसार खेती समुद्र सतहदेखि १६०० मिटरसम्मको उचाइमा गर्न सकिन्छ । यसको सफल खेतीकाे लागि २०-३० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । औसतमा वार्षिक वर्षा १०००-२००० मिलिलिटर हुने क्षेत्रमा विना सिँचाइ पनि बेसार खेती सफलतापूर्वक गर्न सकिन्छ । धेरै चिसो र तुसाराेले यो बालीलाई नोक्सान गर्दछ ।

माटो

बेसार खेतीको लागि प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका र फुक्राे माटो उत्तम मानिन्छ । पानीको उचित निकास नभएको ठाउँमा बेसारलाई ड्याङ बनाएर लगाउनुपर्छ । थोरै अम्लीयपना भएको माटो बेसार खेतीको लागि उपयुक्त मानिन्छ भने बढी क्षारयुक्त माटो बेसारको लागि त्यति राम्रो मानिँदैन । बेसार खेतीको लागि माटोको पीएच ५/५– ६/५ उपयुक्त हुन्छ ।

२५ मेट्रिक टन बेसार आयात

नेपालमा चालु आर्थिक वर्षको १० महिनामा २८ करोडको बेसार आयात हुँदा सुदूरपश्चिममा आधा करोड बढीको बेसार आयात भएको छ ।

देशका अन्य भन्सार नाकाभन्दा कम मात्रामा सामान आयात हुने सुदूरपश्चिमको नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म झण्डै ५५ लाख बढीको बेसार भारतबाट ल्याइएको हो । सुदूरपश्चिममा चालु आर्थिक वर्षको १० महिनामा आधा करोड बढीको बेसार आयात गरेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले दिएको विवरण अनुसार सुदूरपश्चिममा १० महिनाको अवधिमा ५४ लाख ९३ हजार आठ सय ९० रुपैयाँको बेसार आयात भएको छ । सुदूरपश्चिमको दुई नाका त्रिनगर र गड्डाचौकी भए पनि बेसार भने त्रिनगर नाका भएर मात्रै आयात भएको छ ।

कैलालीको त्रिनगर भन्सार भएर चालु आर्थिक वर्षमा झण्डै ५५ लाखको बेसार आयात भएको प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले जानकारी दिनुभयाे । ‘यो नाका भएर निकै कम मात्रामा मात्रै बेसार आउने गरेको छ । बेसारबाट हामीले चालु आर्थिक वर्षमा पाँच लाख २५ हजार एक सय ९३ रुपैयाँ राजस्व प्राप्त गरेका छौं’ भन्सार अधिकृत अर्यालले भन्नुभयो, ‘यो नाकाबाट तयार पारिएको बेसार आउँछ । अहिलेसम्म २४ हजार सात सय ४४ किलो बेसार भित्र्याइएको छ ।’ आयात भएको बेसार २४ दशमलव ८ मेट्रिक टन रहेकाे छ । यो परिणाम भनेकाे सुदूरपश्चिममा उत्पादन हुने बेसारको शून्य दशमलव २ प्रतिशत हो । 

कञ्चनपुरको गड्डाचौकी नाका भएर भने बेसार नै आयात भएको छैन र भन्सारबाट आयात हुने सबै चिजहरुको विवरण कम्प्युटर प्रणालीमा चढाउने गरिएको छ । भन्सार विभागले नियन्त्रण गर्ने यस प्रणालीमा गड्डाचौकीबाट एक रुपैयाँको पनि बेसार आयात नभएको देखिएको प्रमुख भन्सार अधिकृत नहकुल शर्माले जानकारी दिनुभयो ।

‘हाम्रो नाकाबाट बेसार आउने तथ्याङ्क नै छैन । सानोतिनो पनि व्यावसायिक प्रयोजनको लागि ल्याएको देखिएन ।’ भन्सार अधिकृत शर्माले भन्नुभयो । कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात भएको बेसार अघिल्लो आर्थिक वर्षको भन्दा दोब्बर हो । अघिल्लो आर्थिक वर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको बेसार आयात भएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Ghanshyam Kharel

    June 28, 2020, 9:30 p.m.

    आफ्नो देस कै कम्पनी द्वारा उत्पादित बेसार प्रयोग गरि हाम्रा किसान तथा मसला कम्पनीका दाजु भाइ दिदी बैनी लाई सहयोग गरौ र देसबाट बाहिर बेसारबाट जाने पैसाको कमि गराउ। आत्मानिर्भरताको लागि गरिएको यो सानो कदम प्रती सम्पूर्ण किसान साथीहरु लाई मेरो नमन।

  •  0 Reply

तपाईको प्रतिक्रिया