हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता

 असार १६, २०७७ मंगलबार १७:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमालय एअरलाइन्स र चीनको प्रतिष्ठित बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सम्झौता भएको छ । 

सम्झौतापछि हुवावेले हिमालय एअरलाइन्स्लाई थप प्रविधिमैत्री बनाउनेछ भने यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्पहरु र यात्रा अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

हुवावेले हिमालय एअरलाइन्सलाई दक्षिण एसियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सिर्जना गर्दै स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्द्धन गर्ने जनाएको छ । 

सम्झौता कार्यक्रममा नेपालका लागि चीनको राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यवसायिक समूह-एसिया प्रशान्त क्षेत्रका अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । 

सम्झौतामा हिमालय एअरलायन्सका अध्यक्ष झोउइन्योङ्ग र हुवावे टेक्नोलोजी नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा चिनियाँ दूतावासका काउन्सेलर झाङ्ग फ्यानले महामारीपछिकाे अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता सक्रिय कदम रहेको बताउनुभएको छ । 

उहाँले यी दुई कम्पनीहरुका साथ साथै नेपालमा चिनियाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सिर्जित बाधाहरुलाई तोडेर र नवीनतम विधिहरु अपनाए योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

यस्तै हिमालय एअरलाइन्सका अध्यक्ष झोउ इन्योङ्गले बिजनेससँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिइ नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास प्रकट गर्नुभयो ।

उहाँले सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भइ नवीनता र समाधानहरुको खोजीबाट तेस्राे पक्ष सहकार्यका लागि स्वागत गर्नुभयो ।

आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आईसीटी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आईसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्नेलगायतका कार्यहरु पर्नेछन् । 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालअ एअरलाइन्ससँग चार वटा जहाज रहेका छन् । अहिले हिमालय एअरलाइन्सले आबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाङ, चाडंशा, शेन्जेङ्ग र छोड्ंछिडंमा उडान सेवा भर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया