दैलेख : सेते दमाईको सालिक बन्ने

 असार १७, २०७७ बुधबार १९:१२:३० | अमर सुनार
unn.prixa.net

दैलेख – छोराले अन्तरजातीय विवाह गरेको विषयमा नौ वर्षअघि हत्या गरिएका दैलेखका सेते दमाईको सालिक बन्ने भएको छ । सङ्घीय संसद् प्रतिनिधि सभाकी सदस्य पार्वती बिशुन्केको पहलमा आगामी वर्ष सरकारले सेते दमाईको सालिक बनाउन १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

नौमूले गाउँपालिका १ तोलीका सन्तबहादुर दमाईले त्यही गाउँकी राजकुमारी शाहीलाई अन्तरजातीय विवाह गरेको विषयलाई लिएर सन्तबहादुरका बुबा सेतेको हत्या भएको थियो । 
सेते दमाईको कान्छो छोरा सन्तबहादुरले राजकुमारीसँग २०६८ साउन २८ गते अन्तरजातीय विवाह गरेको विषयलाई लिएर माइती पक्षले खुकुरी प्रहार गरी भदौ १३ गते सेते दमाईको हत्या गरेका थिए ।  

पीडित परिवारलाई उतिबेलै राहत 

तत्कालीन संविधान सभाको महिला, बालबालिका तथा समाज कल्याण समितिको ‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’ले घटनाकाे स्थलगत अनुगमन गरेपछि गरेको सिफारिसको आधारमा नेपाल सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिएको थियो । 

पीडित परिवारको न्यायका निम्ति सरकारको ध्यानाकर्षण गराउन पत्रकार अमर सुनारको अध्यक्षतामा गठित ‘सेते दमाई शहीद घोषणा सङ्घर्ष समिति’ को निरन्तर खबरदारीपछि घटनाको ६ महिनापछि संसदीय समितिले घटनास्थल अध्ययन गरेर राहतको सिफारिस गरेको थियो ।   

‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’ का संयोजक सभासद विनोद पहाडीको नेतृत्वमा घटनास्थल अध्ययन गरेको पाँच सदस्यीय संसदीय समितिको सिफारिसको आधारमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षताको मन्त्रिपरिषद् बैठकले २०६९ असार ५ गते १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । 

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष संविधान सभा सदस्य विनोद पहाडीले सेते दमाईको सालिक बनाउन बजेट विनियोजन भएको जानकारी पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो । 

राज्यले सेते दमाईको सालिक बनाइदिँदा उहाँको सम्मान हुने भन्दै मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल नेपालीले खुसी प्रकट गर्नुभयो । प्रतिनिधि सभा सदस्य पार्वती बिशुन्केले आफू जनप्रतिनिधि भएको नाताले जिल्लाको जातीय विभेदको ठूलो घटना स्मरणीय गराउन सालिक बनाउने बजेट पारेकोमा गौरव लागेको बताउनुभयो । 

घटनाको न्यायिक सिलसिला    

हत्या घटनाका नौ जना दोषीमध्ये मुख्य योजनाकार बिन्दकला शाहीसमेत तीन जनालाई २०–२० वर्षको जेल सजाय भएको छ । 

जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले २०६९ जेठ ३० गते गरेको फैसलामा दैलेखको हत्यामा मुख्य योजनाकार बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०–२० वर्ष जेल सजाय भए अनुसार उनीहरु जेल सजाय भोगिरहेका छन् । 

फैसला अनुसार हत्या भएको घटनास्थलमा प्रत्यक्ष पुगेका तर १६ ननाघेका नाबालक भएकाले उनीहरुलाई १०–१० वर्षमात्र बाल सुधार गृहमा पठाएकोमा ५० प्रतिशत कैद मिनाहा पाएर घर फर्किएका छन् । 

हत्या घटनाको सूचना सम्वाहक बनेका हत्याअघि पनि पटक–पटक सेते दमाईको परिवारलाई कुटपिट गरेका अरु चार जना बालकहरुलाई जिल्ला अदालतले सफाइ दिएकोमा २०७० वैशाख २४ गते पुनरावेदन अदालतले आरोपित यी चार बालकसहित नौ जना सबैलाई एक–एक वर्ष जातीय विभेद कसुरमा कैद गर्ने फैसला गरेको थियो । 

पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश दीपकराज जोशी र न्यायाधीश रत्न बागचनको इजलासले जिल्ला अदालतको अघिल्लो फैसलामा जातीय विभेद कसुरसमेत ठहर गरेपछि आरोपित पक्षले गरेको पुनरावेदनमा गरेको अपिल सर्वोच्च अदालतलेसमेत सदर गरेको हो ।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानले २०७५ साउन १४ गते गरेको अन्तिम फैसलामा हत्या घटनाको बेला सहभागी नभएका तर त्यसअघि सेते दमाईलाई कुटपिट गरेका चार जना बालकहरुलाई जातीय विभेद कसुरमा सफाई दिइएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया