सुदूरपश्चिम : थपिए अहिलेसम्मकै धेरै सङ्क्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

 असार १८, २०७७ बिहिबार २१:२०:१८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा बिहीबार थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका पाँच महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको हाे ।

यस्तै धनगढीमा भएको परीक्षणमा आठ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेबगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौ जनाको कोरोना परीक्षण भएको थियो । सुदूरपश्चिममा अहिलेसम्म तीन हजार बढीमा कोरोना पुष्टि भइसकेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ ।  सङ्क्रमितमध्ये चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया