सागका खेलाडीको खातामा पैसा, मुख्यमन्त्री कपका खेलाडीलाई दिन डेढ वर्षदेखि आनाकानी

 असार १९, २०७७ शुक्रबार १३:२६:२३ | सीताराम ओझा
unn.prixa.net

मुख्यमन्त्री कप

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ ।

कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको समय सकिन एक दिन बाँकी छ । अहिले कोरोना महामारीका

कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधै खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको र त्यसपछि चालू आर्थिक वर्षको असारभित्रै उनीहरुको खातामा पैसा पठाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना निकालेर खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, त्यो नभएमा पालिकाले स्थायी बसोबासको व्यहोरा उल्लेख भएको सिफारिसपत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि र खेलाडीको पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, सम्पर्क नम्बर सहितको विवरण माग गरेको छ । अहिले सागका पदक विजेता खेलाडीहरुले विवरण बुझाइरहेका छन् ।

नेपालमा सम्पन्न भएको १३ औं साग प्रतियोगिताका सुदूरपश्चिम प्रदेशका पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो । पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद्को बैठकले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई जनही दुई लाख, एक स्वर्ण जित्ने खेलाडीलाई डेढ लाख, रजत विजेता खेलाडीलाई एक लाख र काश्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीले मात्र नेपाललाई १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए । सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए ।

उनीहरुको विवरण आएपछि पदक अनुसारको रकम सिधैं उनीहरुको खातामा पठाइने मन्त्रालयको भनाइ छ । 

मुख्यमन्त्री कपको पुरस्कार दिन आनाकानी

सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई भने नगद पुरस्कार दिन मन्त्रालयले आनाकानी गरिरहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा अघिल्लो आर्थिक वर्षमा भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो स्थान हासिल गरेको थियो । प्रथम हुने प्रदेशलाई नगद १५ लाख दिने भनिएको पुरस्कार रकम दिन मन्त्रालयले बेवास्ता गरिरहेको छ ।

२०७५ सालको चैत १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको पुरस्कार राशि डेढ वर्षसम्म पनि खेलाडीले पाएका छैनन् ।

फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट गरी चार वटा विधामा भएको मुख्यमन्त्री कपमा प्रथम, द्वितीय र तृतीय हुने टिमका खेलाडीहरूले पुरस्कारको राशि नपाएका हुन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, महिला क्रिकेट, फुटबल र ब्याडमिन्टनमा स्वर्ण पदक जित्दै सातै प्रदेशमा पहिलो भएको थियो । विजेतालाई दिने भनिएको १५ लाख रुपैयाँ पुरस्कार राशि खेलाडीले अहिलेसम्म पनि पाएका छैनन् ।

‘हामीले अहिलेसम्म पहिलो भएको १५ लाख रकम पाएका छैनौं, कति पटक सामाजिक विकास मन्त्रालयमा गइसक्यौं, हुन्छ हुन्छ भन्छन् तर अहिलेसम्म एक पैसो पनि दिएको छैन’ सुदूरपश्चिम प्रदेशकी महिला क्रिकेट टोलीकी कप्तान जानकी भट्टले भन्नुभयो, ‘कहिले खेलाडी कल्याण कोष बनाउने भन्छन्, केही न केही वहाना बनाएर खेलाडीलाई पुरस्कार दिनबाट रोकिरहेका छन् ।’

यो कोरोनाको महामारीको समयमा पुुरस्कार दिएमा खेलाडीहरुलाई निकै ठूलो राहत हुने उहाँ बताउनुहुन्छ ।

प्रदेश सरकारले, दोस्रो र तेस्रो हुने टिमलाई दिने भनिएको १० लाख र पाँच लाख रुपैयाँ भने सम्बन्धित प्रदेशको सामाजिक मन्त्रालयको खातामा पठाइदिएको छ । उनीहरुले रकम पाउने वित्तिक्कै खेलाडीहरुलाई दिइसकेको छ । तर सुदूरपश्चिम सरकारले नदिएको ब्याडमिन्टनका प्रशिक्षक मेघराज कठायतले बताउनुभयो ।

‘सागका खेलाडीलाई सरकारले पनि पैसा दिएको छ, प्रदेशले पनि उनीहरुलाई दिएको छ । प्रदेशका लागि खेल्ने खेलाडीको बारेमा कुनै मतलब गरिएको छैन’ प्रशिक्षक कठायतले भन्नुभयो, ‘सयौं पटक भनिसक्याैं, हरेक खेलकुदको कार्यक्रममा कुरा उठाउँछौं, तर दिने नाम नै लिदैनन्, अहिलेको लकडाउनको बेला खेलाडीहरुले रकम पाए साह्रै राहत मिल्थ्यो, तर प्रदेशका खेलाडीहरुलाई हेपिएको छ ।’

१५ लाखको हकदार सुदूरपश्चिम प्रदेशका खेलाडीले डेढ वर्षदेखि यो रकम नपाएको गुनासो गरेका हुन् ।

‘हामीले मेहनत गर्‍यौं, गोल्ड मेडल पनि ल्यायौं तर अहिले आएर पाउनुपर्ने १५ लाख पुरस्कार पाइएको छैन’ १९ वर्षमुनिको ब्याडमिन्टनमा स्वर्ण जितेका देवराज रानाले भन्नुभयो ।

खेलाडीले मेहनत गरेकै कारण सुदूरपश्चिम प्रदेश पहिलो हुन सफल भएकोमा त्यो १५ लाखको पुरस्कार राशि खेलाडी, कोच र टिम म्यानेजरलाई बाँड्नुपर्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशले आयोजना गरेको प्रथम मुख्यमन्त्री कपमा फुटबलमा पनि सुदूरपश्चिमले गोल्ड मेडल हात पारेको थियो । तर पाउनुपर्ने पुरस्कार नपाएकोमा आफूहरु निराश भएको खेलाडीहरुको गुनासो छ ।

‘फुटबल आफैंमा कति खर्चिलो खेल हो, प्रतियोगिताभरि खेलेर ५/७ हजार मात्रै पाएकोमा पहिलो भएर १५ लाखबाट केही रकम पाइएला भन्ने आशा थियो तर डेढ वर्षसम्म त्यसको कुनै टुंगो छैन’, सुदूरपश्चिम प्रदेशका फुटबल टोलीका कप्तान गजेन्द्र शाहीले भन्नुभयो ।

पुरस्कार राशि दिन माग

यता खेलाडीहरुको हकहितमा काम गर्दै आएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले प्रदेशका खेलाडीहरुलाई पुरस्कार राशि दिन माग गरेको छ । आइतबारसम्म नदिएमा आन्दोलनमा जाने खेलाडी संघका अध्यक्ष प्रकाश चन्दले बताउनुभयो ।

‘सागका खेलाडीहरुको डाटा मागेको छ, हामीले प्रदेश खेलाडीहरुलाई पनि मुख्यमन्त्री कपको पुरस्कार दिन आग्रह गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘अब दुई दिन कुर्छौं, आईतबारसम्म निर्णय नभएमा आन्दोलनमा जान्छौं ।’

दोस्रो र तेस्रो हुने प्रदेशको रकम पठाइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले, पहिलो भएको सुदूरपश्चिम प्रदेशको १५ लाख रकममध्ये कर कट्टा गरेर ११ लाख २५ हजार रकम गएको वर्षको साउन २० गते मात्रै क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइसकेको जनाएको छ । ‘हामीले पहिलो हुने प्रदेशको पुरस्कार राशि १५ लाखमा कर कट्टा गरी ११ लाख २५ हजार क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइदिएका छौं, अब प्रदेश सरकारले त्यो रकम खेलाडीलाई बाँड्ने वा कल्याणकारी कोष बनाउने निर्णय देला’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भन्नुभयो, ‘हामी पनि त्यो रकम दिने तयारीमा लागिरहेका छौं, कसरी दिने भन्ने निर्णय हुन बाँकी छ ।’
 

अन्तिम अपडेट: चैत १, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया