म्याग्दीमा थप ५ जना कोरोनामुक्त भएर घर फर्किए

 असार २०, २०७७ शनिबार १५:१८:५६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा थप पाँच जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर शनिबार घर फर्किएका छन् । भारत तथा कुवेतबाट आएर बेनीको क्वरेण्टीनमा रहेको बेला कोरोना सङ्क्रमण पुष्टि भएका पाँच जना आइसोलेशन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।   

डिस्चार्ज हुनेहरुमा बेनी नगरपालिका २ ज्यामरुककोटकी २६ वर्षीया एक महिला र रघुगङ्गा गाउँपालिका ३ राखुपिप्लेका ३३ वर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । 

यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका १, कुहुँका २० वर्षीय पुरुष, मङ्गला ३ र ४ बराङ्जाका २६ वर्षीय तथा २३ वर्षीय पुरुष पनि डिस्चार्ज भएको उहाँले बताउनुभयो । तीमध्ये बेनी नगरपालिका २ ज्यामरुककोटका २६ वर्षीया महिला कुवेत र मङ्गला तथा रघुगङ्गा गाउँपालिकाका चार जना पुरुष भारतबाट आएर बेनीको क्वरेण्टीनमा बसेका थिए । 

यसैबीच पछिल्लो तथ्याङ्कअनुसार म्याग्दीका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । साउदी अरबबाट आएका रघुगङ्गा २ र ३ राखुभगवतीका २७ वर्षीय तथा राखुपिप्लेका ४७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि हाे । त्यस्तै भारतबाट आएका मंगला १, कुहुँका २४ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । 

सङ्क्रमण पुष्टि भएका तीनै जनालाई अहिले बेनीमा रहेको आइसोलेशन कक्षमा राखिएको छ । म्याग्दीबाट अहिलेसम्म चार सय १२ वटा नमुना सङ्कलन गरी पीसीआर जाँच गर्न पठाइएकोमा तीन सय २४ वटा नमुनाको रिपोर्ट आउँदा तीन सय एक वटाकाे रिपाेर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

म्याग्दी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ पुगेकोमा १४ जना पुरुष र पाँच जना महिला रहेका छन् भने तीमध्ये १० जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । अहिले आइसोलेशनमा नाै जना रहेका छन् भने बेनीका तीन वटा क्वरेण्टीनमा एक सय ४५ जना रहेको कोभिड–१९ कमाण्ड पोस्टका सदस्य सुरत केसीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया