कतारमा कोरोनासँग लडिरहेका सन्तोष भन्नुहुन्छ : ज्यान कमजोर भए पनि मन बलियो बनाऔँ

 असार २१, २०७७ आइतबार १७:५:५७ | मेरो कथा मेरो भोगाई

मेरो नाम सन्तोष बुढाथोकी हो । घर सुनसरी । तर अहिले रोजगारीको सिलसिलामा कतारको दोहामा छु ।

काम खोज्दै कतार आइयो । यहाँको एक सरकारी अस्पतालमा बिरामीको हेरचाह गर्ने काम गर्छु । यो कोरोना नआउँदासम्म सबै राम्रो थियो । तर संसारभर फैलिएको कोरोनाले कतार पनि निकै प्रभावित भएको छ । म पनि यसबाट प्रभावित भएको छु । केही दिनबाट कोरोनासँग संघर्ष गर्दैछु । मलाई थाहा छ म जित्छु । मेरो यही आत्मबलकै कारण अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अलि सञ्चो महशुस गर्न थालेको छु ।

​तर यो बिरानो परदेशमा म एक्लै छु । सञ्चै हुँदा त घर परिवार सम्झेर खल्लो लाग्ने यो खाडीमा बिरामी पर्दा एक्लो महसुस हुँदो रहेछ । नरमाइलो लाग्छ बेलाबेलामा । भक्कानो फुट्छ । तर मानिस भएपछि जिन्दगीमा परिआउने हरेक अप्ठेरासँग लड्न र भिड्न सिक्नुपर्दोरहेछ ।

जीवनमा सिकाइ र भोगाइको क्रममा समयले धेरै कुराहरुको ज्ञान र अनुभव दिंदो रहेछ । अहिले यो महामारीको बेलामा कोरोनाबाट सङ्क्रमित हुँदा पनि धेरै कुराहरु सिक्ने मौका पाएको छु । आफूलाई बुझ्न पाएको छु ।

सुरु सुरुमा त खुब डर लाग्यो । के के होला जस्तो पनि भएको थियो । तर अहिले त मेरो स्वास्थ्य अवस्था पनि सुधार हुँदै गएपछि मनको डर र त्रास पनि कम हुँदै गएको छ । अब त आँट आएको छ । आफूले चाहेर र जानीजानी लाग्ने कुरो होइन कोरोना । कसैले पनि कोरोनासँग लड्न परोस् भनेर सोच्दैनन् ।

तर अहिले कोरोना थाहै नभइ धेरैलाई सङ्क्रमण भइसकेको हुन्छ । सकेसम्म लाग्न नदिनु नै उत्तम हो । सुरक्षाका उपाय अपनाऔं । तर लागिहाल्यो भने पनि नआत्तिऔं । उच्च मनोबल र आत्मविश्वास बलियो बनाऔं । ज्यान कमजोर भए पनि मन बलियो बनाउनु पर्छ ।

म कोरोनासँग लडिरहेको छु । थाहा छ अब केही दिनमा म निको हुन्छु । तर अहिले विदेशमा रहेका नेपालीलाई सरकारले गरेको व्यवहार र टिकट दरले भने मन दुखेको छ। यस्तै अवस्था भयो भने म कसरी घर फर्कन सक्छु होला भनेर चिन्ता लागेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • शंकर शर्मा (न प )

    July 5, 2020, 5:22 p.m.

    बिदेशी भुमिमा हुदा त्यहाँ को स्वास्थ्य सेवा र सुबिधा देखेरै रोग लागे पनि ५०% त आफै ठिक हुन्छ। हाम्रो देशमा मा कहिले होला त्यो सेवा सुबिधा पाउने बिरामि हुदा।

  •  0 Reply

तपाईको प्रतिक्रिया