यूएईदेखि क्वरेण्टीनसम्म : मानिस हाम्रो नजिक परेनन्, किनेर खान बाटोमा पैसासमेत चलेन

 असार २४, २०७७ बुधबार ७:५२:५९ | मेरो कथा मेरो भोगाई

रमेश बुढाथोकी, झापा ।

म पनि अरुजस्तै कमाउन र जमाउन भनेरै गएको थिएँ यूएई । तर परिस्थिति मेरो सोचभन्दा फरक भयो । धेरै समय यूएईको सारजहामा अलपत्र परें । घर फर्कन पनि के मात्र गर्नु परेन !

विभिन्न मिडिया, फेसबुक लाइभ अनि प्रधानमन्त्रीलाई चिठीदेखि धेरैपटक सरकारसँग उद्धार गरिदिन माग गर्न पर्‍यो ।  समस्या पनि यति थियो कि एक पेट भर्न पनि दिनरात संसारसँग गुहार माग्नु पर्‍यो । तर परदेशमा पनि सहयोग चाहिँ मिल्यो । एनआरएनएको सहयोगमा खान बस्न र स्वदेश फिर्तीका लागि पहल भयो । 

यूएईमा सँगसँगै दुःखको घामपानी सहेका हामी जहाजमा पनि एकसाथ विमानस्थलसम्म आयौं । अनि होल्डिङ सेन्टर हुँदै आआफ्नो आफ्नो प्रदेश, जिल्ला र नगरपालिकातिर लागियो । 

जहाजले त यूएईबाट विमानस्थलसम्म छिट्टै ल्यायो । तर विमानस्थलमा निकै समय लाग्दो रहेछ । ढिलो हुने हरेक कामहरु । विमानस्थलबाट बाहिर निस्कनै चार घण्टा लाग्यो । त्यो देख्दा हाम्रो सरकारी प्रणालीसँग खुब रिस उठ्यो। किनकी हामी भोकै प्यासै विदेशबाट स्वदेश फर्किएका थियौं ।

हामी त जवान थियौं । खाली पेटसँग केही समय भए पनि टिक्न सकेका थियौं । तर सँगै जहाजमा फर्किएका गर्भवतीहरु देख्दा मनै खिन्न भयो । तर के गर्ने नियम मान्नुको विकल्प थिएन । एक त विदेशबाट फर्किएको भन्नासाथ कोरोना आयो भन्छन् । हामी कति दुःख भोगेर फर्कियौं भनेर त कस्ले बुझ्ने र ? 

विमानस्थलबाट हामीलाई राधेराधेको पार्टी प्यालेसमा लगियो । त्यहाँ खाना खुवाइयो । त्यसपछि सेनाकै गाडीमा भक्तपुरस्थित खरिपाटी क्वरेण्टीनमा राखियो । विमानस्थलबाट लगभग ९ घण्टा लाग्यो खरिपाटीको क्वरेण्टीनमा पुग्न । त्यतिबेला लाग्यो अब त मरे पनि आफ्नै देशमा मरौंला । मनमा छुट्टै आनन्द भयो । 

काठमाण्डौबाट आफ्नो प्रदेश १ आउनका लागि प्रति व्यक्ति १८ सय रुपैयाँ भाडा तिर्नुपर्‍यो । विभिन्न ठाउँमा जाँच हुँदै हामी हाम्रो पहिलो गन्तव्य प्रदेश १ को होल्डिङ सेन्टर चतारातर्फ अघि बढ्यौं । 

भोलिपल्ट हामीलाई आफ्नो प्रदेश लैजाने तयारी भयो । प्रदेश १ का हामी ४१ जना एउटा दुईवटा गाडीमा जान तयार भयौं । काठमाण्डौबाट आफ्नो प्रदेश १ आउनका लागि प्रति व्यक्ति १८ सय रुपैयाँ भाडा तिर्नुपर्‍यो । विभिन्न ठाउँमा जाँच हुँदै हामी हाम्रो पहिलो गन्तव्य प्रदेश १ को होल्डिङ सेन्टर चतारातर्फ अघि बढ्यौं । 

कोरोनाले समाज कस्तो बनाएछ त्यो त विदेशमा अनुभव गर्न पाइएको थिएन । तर जब  हाम्रो यात्रा भयो, तब बुझियो । यतिसम्म कि कतिपय पसल र  होटेलमा हाम्रो पैसा चलेन । धेरैजना हाम्रो नजिक परेनन् । मानौं कि हामी कोरोना बम हौं । हामी त आफ्नो देश सम्झेर फर्किएका थियौं ।

हाम्रो देशको, परिवारको र आफन्तको माया परदेशीलाई जति कसलाई लाग्ला र ? तर त्यो कुरा खै किन नबुझेका होलान् ? फेरि हामी परीक्षण गरेरै आएका हौं । कोरोनाको शंका भए त हामी पनि किन आउने थियौं र ? तर समाजले त्यो कुरा नबुझ्ने रहेछ । 

यात्राकै क्रममा प्रदेश १ को होल्डिङ सेन्टर हँुदै हामी झापा जिल्लाको होल्डिङ सेन्टर भद्रपुर पुग्यौं । लगभग २४ घण्टाको यात्रा गरेर । हामीले त सह्यौं, तर गर्भवतीको अवस्था देख्दा साह्रै नरमाइलो लाग्यो । सरकारसँग रिस उठ्यो । पसलमा पैसा चलेन । न खान पाउनु, न बस्न । यति लामो यात्रा । कसरी यात्रा गरे होलान् गर्भवतीहरुले ? म कल्पना पनि गर्न सक्दिनँ । 

भद्रपुर होल्डिङ सेन्टरमा पुग्दा थाहा भयो कि आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर आफ्नो क्वरेण्टीनमा जानुपर्ने रहेछ । त्यही अनुसार मैले झापा अर्जुनधारा ६ का वडाध्यक्षलाई फोन गरेर आफ्नोबारेमा जानकारी गराएँ ।

उहाँले २० मिनेट कुर्नुस् गाडी आउँछ भन्नुभयो । गाडी आयो पनि । आफ्नो वडाबाट आफूलाई लिन आएको एम्बुलेन्स देख्दा खुसीले मन फुरुङ्ग भयो । अर्जुनधारा नगरपालिकाको स्थानीय क्वरेण्टीन शनिश्चरे माध्यमिक विद्यालयमा रहेछ । 

क्वरेण्टीन  स्कुलको कोठा घरको कोठाभन्दा केही ठूला र कोठाको साइज अनुसारका बेड थियो  । हरेक खाटमा एउटा झुल, म्याट्रेस, तन्ना अनि ओड्नेसँगै सिरानी । 

आफ्नो व्यक्तिगत प्रयोगको लागि प्लेट, ग्लास, कचौरा अनि नुहाउने, कपडा धुने साबुन, टुथपेस्ट अनि ब्रस सबै दिने रहेछन् । मैले त समाचारमा सुनेअनुसार केही पनि पाइन्न होला भनेर यूएईबाटै एनआरएनएले दिएको पेस्टहरु बोकेर ल्याएको थिएँ । 

रिपोर्ट नेगेटिभ आएमा आफ्नै घरमा होम क्वेरेण्टीनमा बस्न पठाइने रहेछ । यो क्वरेण्टीनको व्यवस्थापनसँगै दिनरात नभनी खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।  

तर क्वरेण्टीनको व्यवस्था सोचेभन्दा राम्रो रहेछ । हरेक कोठामा पङ्खाको व्यवस्था, इन्टरनेट, स्वास्थ्यकर्मीको टोली, सुरक्षाकर्मी, एम्बुलेन्स र एउटा गाडी हाम्रै लागि राखिएको रहेछ । बिहान ६ बजे सिठीको आवाजसँगै उठ्नुपर्ने । त्यसपछि ज्वरो नाप्ने, कसरत गर्ने । हामीलाई हँसाउन र खुसी राख्न स्वास्थ्यकर्मीहरुको प्रयास एकदमै राम्रो लाग्यो । 

चिया, नास्ता, खाना लगायत सबै कुरा समयमै पाइयो । एक्लोपन र तनाव हटाउन, अनि सधैं हामीलाई हँसाउन र सकारात्मक सोच बढाउन डाक्टरहरु सबैजना खटिनुभएको छ । चौबीस घण्टा नै तातोपानीको व्यवस्था रहेको छ । क्वरेण्टीनमा आएको ५ देखि ६ दिनको बीचमा पीसीआर जाँच हुने रहेछ ।

रिपोर्ट नेगेटिभ आएमा आफ्नै घरमा होम क्वेरेण्टीनमा बस्न पठाइने रहेछ । यो क्वरेण्टीनको व्यवस्थापनसँगै दिनरात नभनी खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।  

यहाँ नआउँदासम्म मलाई लाग्थ्यो, सरकारले १० अर्ब रुपैयाँ यसै सक्यो । तर अहिले लाग्छ देशभर यस्तै क्वरेण्टीन बनेका छन् भने त्यो खर्च अवश्य भएको छ । देशभर यस्तै क्वरेण्टीन बनोस् । विदेशबाट फर्कनेले खुसीसाथ क्वरेण्टीनमा बसेर घर फर्कन पाउन । कोही क्वरेण्टीनमा मर्न नपरोस् । विदेशबाट फर्कनेलाई मानवताको व्यवहार होस् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया