हरेक क्वरेण्टीन महिलामैत्री हुन आवश्यक छ

 असार २६, २०७७ शुक्रबार ११:३१:४३ | मेरो कथा मेरो भोगाई

श्रेया गजमेर, अर्जुनधारा झापा ।

मेरो घर झापाको अर्जुनधारा हो । म कोरोना महामारी सुरु हुुनुभन्दा केही समयअघि घुम्नका लागि भारतको बैङ्लोर पुगेकी थिएँ ।

तर त्यहाँ पुगेको केही दिनमै अचानक लकडाउन भयो । घर फर्कने सम्भावनै रहेन । तीन महिना त्यही बिताउन पर्‍यो । तीन महिनासम्म अनेक समस्या र अप्ठेरो सहेर म बल्ल घर फर्कन सफल भए । असार ११ गते म विभिन्न समस्याहरु झेल्दै शनिश्चरे माबिको क्वरेण्टीन पुगें ।

बाहिरबाट आएपछि क्वरेण्टीनमा नबसी सुखै छैन । आफ्नो कारणले अरुमा डर र भय पैदा गरिदिने कुरो पनि आएन । त्यसैले यहाँ क्वरेण्टीनमा बसेँ । खान, बस्न र अझ महिलालाई अनेक समस्या हुने भन्ने सुनेको थिएँ । त्यसकारणले पनि म डराएको थिएँ । तर यहाँ आएपछि मैले फरक कुरा महसुस गरें ।

यहाँ केटा र केटीका लागि अलग्गै फ्ल्याटको व्यवस्था गरिएको रहेछ ।

लगभग म आउदा हामी ३० जान जति थियौं होला महिला । तर दिनहुँ त्यो क्रम बढिनै रहेको थियो । रिपोर्ट नेगेटिभ आएपछि घर फर्कनेको सङ्ख्या पनि बढी नै रहेको थियो ।

राम्रो कुरा चाहिँ के भयो भने यहाँ आएपछि मैले क्वरेण्टीनका बारेमा जे धारणा बनाएको थिएँ, त्यो भोगिनँ । जुन समस्या बाटोमा भोगें, भारतमा भोगें, यहाँ आएपछि त आफ्नो देश आफनो माटो अलग्गै हुने रहेछ ।

खाना बस्नको उचित प्रबन्ध गरिएको थियो । सुरक्षा, स्वास्थ्यमा पनि केही कमी गरेनन् । स्थानीय योग गुरुबाट योग, नैतिक शिक्षा प्रदान गरियो । क्वरेण्टीनमा बस्ने सबैलाई खुशी राख्ने अनेकन उपायहरु अबलम्ब गरिएको थियो ।

क्वरेण्टीनमा बस्दा धेरै कुरा सिक्न पाइयो । विभिन्न देशबाट आएकाको अनुभव सुन्न र त्यसबाट केही कुरा जान्न पाइयो । यूएईबाट आउनुभएका र अन्य देशबाट आउनुभएकाहरुले देखाएको माया र सहयोगप्रति म आभारी छु । यूएईबाटै आउनुभएका रमेश बुढाथोकी सरलाई आभार प्रकट गर्न चाहन्छु । उहाँ त्यति टाढाबाट आफैं विभिन्न समस्या झेलेर फर्किएको भए पनि सबैलाई सकारात्मक सोच्न सहयोग गर्ने, क्वरेण्टीनमा बस्दासम्म सबैलाई हरेक हिसाबले सहयोग गरिरहनुभयो । सबैको साथ र सहयोग, हौसला र प्रेरणाले नै कोरोनाको डर र क्वरेण्टीनको समय सकेर म होम क्वरेण्टीनमा आइपुगेको छु ।

क्वरेण्टीनमा अर्जुनधारा नगरपालिका तथा यहाँका विभिन्न संघसंस्थाले हामी महिलालाई सेनिटरी प्याड बितरण गरिदिनुभयो । यो कुरा पनि मलाई एकदमै राम्रो लाग्यो । अहिले धेरै महिला पनि क्वरेण्टीनमा छन् । सबै क्वरेण्टीनमा यस्तै सुविधा र सहयोग छ भन्ने छैन ।

तर म चाहन्छु हरेक क्वरेण्टीमा महिलाका लागि यस्तै व्यवस्था गर्ने हो भने बलात्कार र अन्य हिंसाको सिकार हुन पर्ने थिएन । त्यहाँ बस्दासम्म मलाई सबैले आफ्नो परिवारको सदस्यझैं माया गर्नुभयो । अन्त्यमा जसको कोरोना पोजेटिभ आएको छ उहाँहरु सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया