जाजरकोटमा पहिरो : एक जनाको ज्यान गयो, ११ जना बेपत्ता

 असार २६, २०७७ शुक्रबार १३:१९:३४ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – बारेकोट गाँउपालिका ४ को सार्कीटाेलमा बिहीबार राति आएको बाढी पहिरोले दुई वटा घर बगाउँदा एक जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा अन्य ११ जना बेपत्ता भएका छन् ।  

गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिनुभएको जानकारी अनुसार बिहीबार राति पहिरोले गोपाल सार्की र कलु सार्कीकाे घर बगाएको हो । पहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये एक जनाको शव फेला परेको हो तर शवको पहिचान हुन सकेको छैन । 

पहिरोमा परेर ५२ वर्षीय गोपाल सार्की र उहाँकी ५० वर्षीया श्रीमती पुष्पा सार्र्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की बेपत्ता भएका छन् । 

त्यस्तै ३८ वर्षीया कलु सार्की, उहाँकी छोरीहरु १४ वर्षीया तिर्खा सार्की र ११ वर्षीया कमला सार्की तथा ६ वर्षीय छोरा सुभास सार्की बेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिनुभयो ।  

त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुन लाग्न आएका कुशे ९ चौताराकी २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्र्की बेपत्ता भएको सिंहले बताउनुभयो । उहाँका अनुसार उद्धार कार्यमा निकै समस्या भइरहेको छ ।

भौगोलिक विकटताको कारण १२ घण्टापछि प्रहरी टोली घटनास्थलमा

जाजरकोटका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली भर्खरै घटनास्थलतर्फ पुगेको जानकारी दिनुभयो । तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नसकेको उहाँको भनाइ छ ।  

बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरोले मानवीय क्षति गरेकोमा दुःख प्रकट गर्दै धैर्यधारण गर्न र बेपत्ताको खोजी कार्यमा सघाउन सबैलाई आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया